सौराहामा पहिलोपटक नेपथ्य लाइभ, तयारी अन्तिम चरणमा

सौराहा, २९ कात्तिक ।
पर्यटकीय नगरी चितवनको सौराहामा पहिलोपटक हुन लागेको चर्चित ब्याण्ड नेपथ्यको लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल डायरिज र एबी इभेन्ट्सको आयोजनामा ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित कार्यक्रम हुन लागेको हो ।

मंसिर ३ गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रमस्थल सौराहास्थित सभाहलअगाडिको सिसुवार मैदान व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमका लागि अर्ली बर्ड, विद्यार्थी सहुलियत र प्याराफिट सिटिङसहितको पहिलो चरणको भिआईपी टिकट बिक्री भइसकेको छ । अहिले भिआईपी प्रायोरिटी र रेगुलर टिकट मात्र उपलब्ध छन् ।

कार्यक्रममा चितवनसहित छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम), तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको नेपाल डायरिजका निर्देशक आशिष श्रेष्ठले बताए ।

यो कार्यक्रम संगीत र पर्यटनलाई जोड्ने कोशेढुङ्गा बन्ने श्रेष्ठको भनाइ छ । यसपटक सौराहा आउने पर्यटकले प्राकृतिक सुन्दरतासँगै आफ्नै माटोको सुगन्ध बोकेको नेपथ्यको संगीतमा रमाउने अवसर पाउने उनले बताए ।

एबी इभेन्ट्सका निर्देशक अंकित गौतमका अनुसार कार्यक्रममा सहभागी हुने दर्शकका लागि दिउँसो ४ बजेदेखि प्रवेशद्वार खुला गरिनेछ । चितवनबाहिरबाट आउने करिब ४० प्रतिशत दर्शक सौराहामै बस्ने अपेक्षा गरिएको उल्लेख गर्दै उनले कार्यक्रमले सौराहाका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई समेत आर्थिक रूपमा टेवा पुर्‍याउने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट