काठमाडौं । अन्तिम १२ बलमा ३३ रन आवश्यक थियो । १९औँ ओभरमा सुन्दीप जोराले इसुरु उडानाविरुद्ध १६ रन जोडेपछि लुम्बिनी लायन्सलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो । अन्तिम ओभरमा बलिङका लागि आएका थिए रुपेश सिंह । उनले फ्याँकेको पहिलो बल नो बल हुन पुग्यो । जसलाई अली शेइखले छक्कामा परिणत गरिदिए । ओभरको पहिलो वैध बल फाल्नुअघि नै विराटनगरले ७ रन अतिरिक्त दिएको थियो । फ्रि हिटमा दुई रन र त्यसपछिका दुई बलमा दुई रन ल्याएको लुम्बिनीलाई जितका लागि ३ बलमा ५ रन चाहिन्थ्यो । तर चौथो बलमा शेइख क्याचआउट हुन पुगे । यसरी अन्तिम दुई बलमा पाँच रन चाहिएको अवस्थामा क्रिजमा आएका रुबेन ट्रम्पेलम्यानले छक्का प्रहार गरेपछि लुम्बिनीले विराटनगर किंग्सलाई शानदार ढंगले चार विकेटले पराजित गर्यो ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको २६औँ खेलमा लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य १९।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
जोराले ११ बलमा एक चौका र तीन छक्कासहित अविजित २५ रन बनाए । ट्रम्पेलम्यानले एक बलमै ६ रन जोडे ।
लुम्बिनीका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि लगातार विकेट गुमाउँदा लुम्बिनी दबाबमा परेको थियो । अली शेखले १९ बलमा २७ रन जोडे ।
विराटनगरका अपराजित पौडेलले दुई विकेट लिए । चरिथ असलंकाले पनि एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो । विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा एक चौका र छ छक्का प्रहार गरे । शुभम रञ्जने २४ बलमा ३१ रनसहित अविजित रहे । इमरान शेखले २९ बलमा २४ रन बनाए ।
लुम्बिनीका किशोर महतोले दुई विकेट लिए ।
यस जितसँगै लुम्बिनी फेरि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता, विराटनगर किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरको हारसँगै चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेको छ । चितवन जारी एनपीएलको प्लेअफ पुग्ने चौथो टोली बनेको छ ।




