नवलपरासी, २८ कात्तिक ।
समुद्र सतहदेखि करिब १ हजार ९३६ मिटरको उचाइमा रहेको देवचुली डाँडा नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट नवलपुरका विभिन्न भूभागका साथै तनहुँ, पाल्पा, कास्की र चितवनका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्त्वका दृष्टिले देवचुली डाँडा विशेष आकर्षणको केन्द्र हो ।
देवचुली डाँडाको फेदीमा शिरथान कुँवारवर्ती माईको गुफा रहेको छ भने यसको मूल मन्दिर रजहरस्थित टाँगिकोटमा अवस्थित छ । यहाँ हरेक वर्ष चैत पूर्णिमाका दिन शिरथान कुँवारवर्ती (तीन कन्या देवी) माईको विशेष पूजाआराधना गरिन्छ । परापूर्वकालदेखि थारू र मगर समुदायले तीन कन्या देवीलाई श्रद्धा र आस्थाका साथ पूज्दै आएका छन् ।
प्राकृतिक सुन्दरता, धार्मिक विश्वास र सांस्कृतिक विविधताको सङ्गम देवचुली डाँडा पदयात्रा र घुमफिरका लागि आकर्षक गन्तव्य हो । प्रकृतिसँग रमाउन र मनोरम दृश्यमा हराउन चाहनेहरूका लागि देवचुली डाँडा एकपटक पुग्नैपर्ने ठाउँ हो ।





