चितवनले जनकपुरलाई ४ विकेटले हरायो, प्ले अफ पुग्ने सम्भावना जीवितै

काठमाडौं । लो स्कोरिङ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेल्ने सम्भावना जीवितै राखेको छ । पहिलो सिजनमा शीर्ष चारमा स्थान बनाएको राइनोज दोस्रो सिजनमा भने अन्तिम चारमा पर्नबाट वञ्चित भएको थियो ।

जारी प्रतियोगिताको तेस्रो जित निकाल्ने क्रममा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका लागि डेभिड मलानले सर्वाधिक ३५ नट आउट रन बनाए । प्लेयर अफ दि म्याच बनेका उनले ३९ बलमा एक छक्का प्रहार गरे । रवि बोपाराले १६ बलमा १३ रन जोडे भने कामिल मिसाराले ६ बलमा १२ रन बनाए । कुशल मल्लले २५ बलमा १५ बनाउँदा कमल ऐरी १० बलमा ७ रन बनाएर अविजित रहे ।

जनकपुरका राहुल यादवले १९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले २ तथा बिशाल शुश्लिङले १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । बिशाल शुश्लिङले १३ बलमा १५ तथा सन्तोष कार्कीले ११ बलमा १० रन जोडे । राहुल यादव १० रनमा अविजित रहे ।

चितवनका रञ्जित कुमारले तीन विकेट लिए । सिकन्दर रजाले दुई तथा कामिल मिसारा, रिजन ढकाल र कमल ऐरीले समान एक विकेट लिए ।

जितसँगै चितवनले दुई अंक बटुलेको छ । छ खेलमा तीन जित, दुई हार र एक रद्द खेल खेलेको ऊ ७ अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ । ७ खेलमा जम्मा दुई जित निकालेको जनकपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट