काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाज सुदूरपश्चिम रोयल्ससँग ७ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । थारिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन जोडे ।
काठमाडौंका जाहान्दाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा काठमाडौंले सुरुवातमै विकेट गुमाएको थियो । भीम शार्की खाता नखोली आउट भए भने साम हिजलेटले ११ रन बनाए । मोहम्मद आदिल आलमले आठ र सन्तोष यादवले १० रन जोडे ।
राशिद खानले अविजित ३५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ३१ बलमा पाँच चौका प्रहार गरे । दुशन हेमन्ताले १८ बलमा २१ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा स्कट कुगेलेइन, फाबियन एलेन र हेमन्त धामीले समान एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिम सात खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यससँगै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको छ । लुम्बिनी लायन्सले पनि यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । काठमाडौं भने आठ अंकसहित तेस्रो स्थानमा छ ।





