काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को बिहीबार सम्पन्न खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै, दिलीप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रन बनाए । रुबेन ट्रम्पेलम्यान दुई रनमा अविजित रहे ।
लुम्बिनीको सुरुवात त्यति राम्रो हुन सकेन । आसिफ शेख १, कप्तान रोहित पौडेल १ र सन्दीप जोराले चार रन बनाएर आउट भए । मार्क वाटले चार विकेट लिएपछि लुम्बिनीले ६० रन जोड्दा चार विकेट गुमाएको थियो ।
कर्णालीका मार्क वाटले चार ओभरमा १२ रन खर्चेर चार विकेट लिए । पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो ।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे । हुसेन तलतले २२ बलमा २४ तथा गुलशन झाले १४ बलमा १३ रन जोडे । पवन सर्राफले २४ बलमा १२ रन बनाए ।
कर्णालीले पावरप्लेमा चार विकेट गुमाएर ३० रन मात्रै जोडेको थियो । सुरुवाती चार विकेट १५ रनमै गुमाएको कर्णालीका लागि सोमपाल र तलतले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो ।
लुम्बिनीका मार्क वाटले चार विकेट लिँदा अभिषेश गौतम, किशोर महतो, डार्सी सर्ट र रोहित पौडेलले दुई–दुई विकेट लिए ।
यस जितसँगै लुम्बिनी लायन्सले ६ खेलबाट नौ अंक जोडेको छ । चार जित, एक हार र एक खेल नतिजाविहीन भएको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ अंकसहित लुम्बिनीले प्लेअफमा आफ्नो स्थानसमेत सुरक्षित गरेको छ ।
पाँच खेल खेलेको कर्णाली याक्स भने चार अंकसहित अंकतालिकामा छ । दुई जित र तीन हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने गणितीय रूपमा मात्र कायम रहेको छ ।





