स्याङ्जा, २३ कात्तिक ।
वालिङ नगरपालिकाको सभाकक्षमा सोमबार भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा लक्ष्मी जयन्ती, भेषजराज जयन्ती तथा मासिक नियमित रचनावाचनको १०२ औँ शृङ्खला सम्पन्न भएको छ । सोही अवसरमा लीलाम्बर ढुङ्गानाको पछिल्लो कृति ‘स्मृतिका पाना र साहित्यका आयाम’ विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पं. आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक तथा साहित्यकार त्रिलोचन ढकालले कार्यक्रमको समग्र समीक्षा गर्दै कार्यक्रम अत्यन्त सफल भएको बताउनुभयो । वालिङमा साहित्यिक कार्यक्रममा उत्साहजनक उपस्थिति हुनुमा साहित्यकार भेषजराज शर्मा र देवीप्रसाद वनवासीको योगदान प्रेरणादायी रहेको उहाँको भनाइ थियो ।
उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा र भेषजराज शर्माको साहित्यिक योगदानको चर्चा गर्दै विमोचित कृति पनि पठनीय रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथिहरू पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, पुष्पलाल अध्ययन केन्द्र स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय नारायण मरासिनी र डा. तुलसीप्रसाद खनाल ‘प्रभास’ तथा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरलगायतले देवकोटाको साहित्यिक, राजनीतिक एवं सामाजिक योगदानका बारेमा चर्चा गर्नुभयो ।
विमोचित कृतिमाथि समीक्षा गर्दै समीक्षकद्वय प्रा. डा. यमबहादुर पौडेल क्षत्री र डोलराज विकल्प डुम्रेले कृतिकार लीलाम्बर ढुङ्गानाको जीवनी, जागिरे जीवन तथा साहित्यिक योगदानको चर्चा गर्नुभयो । उहाँहरूले प्रस्तुत कृतिले ढुङ्गानालाई कुशल समीक्षकका रूपमा समेत स्थापित गराउन सफल हुने धारणा व्यक्त गर्नुभयो । प्रा. डा. पौडेल क्षत्रीले यस कृतिले ढुङ्गानामा निबन्धकार व्यक्तित्वसमेत रहेको परिचय दिएको बताउनुभयो ।
कार्यक्रममा अतिथिहरू अनन्त अर्याल, ढालबहादुर केसी र गोपाल जिटी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुका साथै तिहारलगायतका चाडपर्वको शुभकामना दिनुभयो ।
कृतिकार लीलाम्बर ढुङ्गानाले आफ्ना सिर्जना वाचन गर्दै आयोजक प्रतिष्ठान र उपस्थित साहित्यकारहरूप्रति आभार व्यक्त गर्नुभयो ।
नियमित रचनावाचनअन्तर्गत कार्यक्रममा स्याङ्जाका कवि तथा कवयित्रीहरू जयलाल सुवेदी, सीताराम अधिकारी, नारायणप्रसाद रेग्मी, शम्भु अर्याल, इन्द्र पाठक, दमकुमारी बगाले, पारिश्वर न्यौपाने, नीलकण्ठ लम्साल, मिलन समीर, चक्रबहादुर पराजुली, ढालबहादुर केसी, कल्पना ढुङ्गाना, चिन्तु गिरी, सूर्यप्रसाद डुम्रे, खगेश्वर पाण्डे, मनिल रेग्मी, ममता रेग्मी, पूजा ढुङ्गाना, दिव्या शर्मा पौड्याल, सन्देश ढुङ्गाना, लक्ष्मी रेग्मी खनाल, टोलप्रसाद ढुङ्गाना, चूडामणि ढुङ्गाना, पोतप्रसाद ढुङ्गाना, सनतकुमार गैह्रे, प्रेमप्रसाद सुवेदी र डोलराज सुवेदीलगायतले आफ्ना सिर्जना प्रस्तुत गर्नुभयो ।
भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो । सदस्य दीपक लम्सालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।





