कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २१औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै थारिन्दु रत्नायकेले अविजित २७ रन बनाए । उनले २८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।
साइफ जैबले १९ बलमा १० रन बनाउँदा विनोद भण्डारीले १० बलमा १० रन जोडे । आरिफ शेखले १६ बलमा ११ रन बनाए । स्कट कुगेलेइनले ३ बलमा ६ रन बनाए । अबिनाश बोहरा २ रनमा अविजित रहे ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । इशान पाण्डे ३, कप्तान दीपेन्द्रसिंह ऐरी १, अनिल खरेल ४ र हेमन्त धामी शून्य रनमा आउट भए ।
सुदूरपश्चिमको इनिङ्समा जनकपुरका बलर हरमित सिंह प्रभावशाली देखिए । उनले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ह्यारी टेक्टरले ४ ओभरमा ९ रन दिएर १ विकेट लिए । राहुल यादवले ४ ओभरमा २४ रन खर्चेर १ विकेट हात पारे । आदित्य महतो र अभिषेक तिवारीले पनि समान १ विकेट लिए ।
जनकपुरका लागि ललित राजवंशीले ३ ओभरमा २४ रन खर्चिए भने रायन बर्लले १ ओभरमा १५ रन दिए । जनकपुरले सुदूरपश्चिमलाई सुरुदेखि नै दबाबमा राखेको थियो । पावरप्लेमा सुदूरपश्चिमले २ विकेट गुमाएर ३५ रन बनाएको थियो । ९.१ ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी आउट हुँदा टोलीको स्कोर ५६ रन थियो ।
म्याकमुलेन र रत्नायकेले केही समय इनिङ्स सम्हाले पनि नियमित अन्तरालमा विकेट गुमाउँदा सुदूरपश्चिम ठूलो योगफल बनाउन असफल भयो । टोलीले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो । सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ४ विकेट गुमाएर ३० रन मात्र जोड्न सक्यो ।
अब जनकपुर बोल्ट्सले जितका लागि २० ओभरमा १२१ रन बनाउनुपर्नेछ ।





