हाम्रो बहुविविधतायुक्त समाजमा विभिन्न चाडपर्व मनाइन्छन् । तिनको आफ्नै मौलिकता र विशिष्टता रहेको पाइन्छ । तीमध्ये नेपालीको महान् चाडका रूपमा रहेको प्रकाश वा उज्यालोको पर्व हो – तिहार । “तमसोमा ज्यातिर्गमय” अन्धकार र अज्ञानता हटाई उज्यालो र ज्ञानले ज्यातिर्मय बनाउने पर्व हो यो । वर्षाको हिलोमैलो हटेर प्राकृतिक छटा मनमोहक बनेको शरद् ऋतुअन्तर्गत पर्ने कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्मको पाँच तिथिहरुको चाड हो तिहार । संस्कृतमा तिथिवारका रूपमा प्रसिद्ध तिहारलाई यमपञ्चकका रूपमा पनि चिनिन्छ । यो अँध्यारोबाट उज्यालोतिर लिएर जाने प्रकाशको उत्सव हो ।
शर्मा (२०६४) का अनुसार यस चाडलाई दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व आदि नामले पनि चिनिन्छ । पाँच दिनसम्म यसलाई क्रमशः कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारका रूपमा मनाइन्छ । यो चाड बहुरङ्गी र बहुआयामिक चाडका रूपमा प्रसिद्ध छ ।
आचार्य (२०६५) ले हरेक प्राणीलाई कर्मअनुसारको फल भोगाउन खटिएका यमराज वर्षैभरि आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न व्यस्त रहन्छन् । यमपञ्चकका पाँच दिन भने उनी आफ्नो कामबाट छुटटी लिई आफ्नी बहिनी यमुनाको निमन्त्रणा मान्न उनको घरमा जान्छन् भन्ने प्रसिद्धि रहेको बताएका छन् । महिष वाहन दण्डधर यमलाई यम,धर्मराज, मृत्यु, आदि लगायत चौध नामबाट पूजा आराधना गरिन्छ । यस लेखमा यमपञ्चक अर्थात् तिहारका पाँचै दिनको सङ्क्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।
काग तिहार : तिहारको पहिलो दिनमा यमराजको दूत वा सन्देशवाहक कागको पूजा गरिन्छ । यस दिन कागको पूजा गरी उसलाई बलिका रूपमा खाद्यान्न अर्पण गरी सम्मान गरिन्छ । यस दिन साँझ घरको मूलद्वारसामु यमलाई दीपदान गर्नाले मृत्युदेव यम खुसी भई अकाल मृत्युहरण गर्ने विश्वास गरिन्छ । आदिकालदेखि नै मानिसका साथीका रूपमा रहँदै आएका पशुपक्षीहरूको अभावमा सृष्टि सौन्दर्यहीन र पर्यावरण असन्तुलित हुन्छ ।
कागले वरिपरिका फोहोरमैला, अन्नबाली नष्ट गर्ने किराफ्याङ्ग्रासमेत खाएर वातावरणलाई स्वच्छ र सफा राख्न सहयोग पु¥याउँछ । एउटै आँखाको नानी भएको कागले सबैलाई समान दृष्टिले वा भेदभावबिना हेर्ने हुनाले नै ‘काकन्याय’ प्रसिद्ध छ । शर्माका अनुसार आयुर्वेदका प्रवर्तक धन्वन्तरि समुद्रमन्थनबाट अमृत कलश लिई यसै दिन प्रकट भएको हुनाले यसलाई धन्वन्तरि त्रयोदशी पनि भनिन्छ । पर्यावरणीय सन्तुलन कायम गर्न र समन्यायिक सामाजिक पद्धतिको स्थापना गर्न कागबाट आजको मानिसले सिक्न र जान्नपर्ने देखिन्छ ।
कुकुर तिहार : यमपञ्चकको दोस्रो दिन कुकुरतिहार एवम् नरक चतुर्दशीका नामले प्रसिद्ध छ । यस दिन अभ्यङ्ग स्नान, नदी वा खोलानालामा बत्ती बगाउने तथा कुकुरको पूजा गरिन्छ । यमराजको दूत मानिने कुकुरलाई आज्ञाकारी सेवकका रूपमा चिनिन्छ । नरकका स्वामी यमराज भएकाले र यसै दिन अर्थात् कृष्णावतारको समयमा श्रीकृष्णले नरकासुलाई मारेकारे यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरजस्तै आज्ञाकारी सेनाहरुबाट युद्ध जित्न सकियोस् भनी ऋगवेदमा प्रार्थना गरिएको छ । घ्राणशक्ति अति तीव्र हुने हुनाले चोरअपराधीहरू पत्ता लगाउने कार्यमा यसको प्रयोग गरिन्छ । यसका साथै विशिष्ट व्यक्तिको सुरक्षा गर्न, लागुपदार्थ पत्ता लगाउने काममा तालिमप्राप्त कुकुरहरुको प्रयोग गर्न थालिएको छ । दुर्गम तथा हिमाली क्षेत्रमा चौरी, भेडा आदिको बथान रक्षाका लागि कुकुर पाल्ने गरिन्छ ।
चाणक्यले कुकुरले धेरै खान सक्ने भए पनि थोरैले सन्तुष्ट हुने, अल्प निद्रा हुने, सरक्क गर्दा पनि थाहा पाइहाल्ने, मालिकप्रति अत्यन्त निष्ठावान् र शूरोपनालाई विशेष गुणका रूपमा बताएका छन् । धर्मराजले कुकुरको रूप धारणा गरी पछिपछि लाग्दै गई युधिष्ठिरको उदारता एवम् धर्मप्रियताबारे परीक्षा गरेको पौराणिक सन्दर्भ पाइन्छ । अतुलनीय स्वामीभक्त तथा बहुविध गुणयुक्त कुकुरलाई तिहारमा यमराजको दूत सम्झँदै फूलमालाले सिँगारी विभिन्न खाद्यान्न खुवाइन्छ । समाजका विविध क्षेत्र तथा राज्यका विभिन्न तहमा जिम्मेवारी, दायित्वबोध तथा जवाफदेहिताको खडेरी पर्दै गइरहेको वर्तमान सन्दर्भमा सबैले आवश्यकताअनुसार आज्ञाकारिता वा बफादारिता कुकुरबाट अवलम्बन गर्न सकिने महत्त्पूर्ण गुण हो ।
गाई तिहार : तिहारको तेस्रो दिन गाई तिहारका रूपमा प्रसिद्ध छ । यसलाई लक्ष्मीपूजा वा दीपावलीका रूपमा पनि चिनिन्छ । गाईलाई लक्ष्मी, शोभा, सौन्दर्य, सुख, सम्पन्नता, सौभाग्य, ऐश्वर्य र सृटिकी देवता मानिन्छ । गाईतिहारको दिन बिहान गाईको पूजा र बेलुका लक्ष्मीपूजा गरिन्छ । गोसेवाबाट मात्र लक्ष्मी अर्थात् धनधान्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
यस रात घरघरमा लक्ष्मीको आगमन हुने भाव राखी हरियो गोबरले घरआँगन लिपपोत गरी, चोखो पारी दीपमाला प्रज्वलन गर्ने चलन छ । यसै दिन त्रिलोक दान गरेका बलिराजाको सम्झनामा भैलो खेल्ने चलन पनि छ । हिजोआज भैलो खेल्ने नाउँमा अनावश्यक र असान्दर्भिक गीतबाजाको पनि प्रयोग गरिन्छ जसले तिहारको मान्यतालाई खण्डित गर्दछ । लक्ष्मीपूजामा सुकर्म गर्ने व्यक्तिकहाँ श्री वा लक्ष्मीले प्रवेश गर्छिन् भने दुष्कर्म गर्ने व्यक्तिकहाँ अलक्ष्मीले प्रवेश गर्छिन् भन्ने विश्वास गरिन्छ । यो रातलाई सुखरात्रि पनि भनिन्छ ।
अन्यायपूर्वक आर्जन गरेको सम्पत्ति दश वर्षसम्म मात्र टिक्ने र त्यसपछि समूल नष्ट हुने कुरा चाणक्यले उल्लेख गरेका छन् । तसर्थ जीवनमा हामीले परिश्रम र सुकर्म गरेर मात्र धनार्जन गर्नुपर्छ, दुष्कर्म र दुराचरण गरेर होइन भन्ने सन्देश गाईतिहार/लक्ष्मीपूजाबाट पाइन्छ ।
गोरु तिहार : यमपञ्चकको चौथो दिन पर्ने गोरुतिहारमा भगवान् शङ्करको बाहन गोरुका साथै गाई, गोवर्धन र बलिको पनि पूजा हुन्छ । आफू जोतिएर हामीलाई धनधान्य दिलाउने परोपकारी गोरु हम्रो संस्कृतिमा सदैव पूज्य रहिआएको छ । आचार्य (२०७६) ले गोवंशसित आर्यजातिको सम्बन्ध प्राचीन, घनिष्ठ, आदर्श एवम् स्नेहपूर्ण रहेको बताएका छन् ।
यस दिन लिपपोत गरी पवित्र बनाइएकाे ठाउँमा गोबरको कुण्ड बनाई गोवर्धन पर्वतको प्रतीक मानी पूजा गरिन्छ । गोरुको मलबाट उब्जेको जौतिलादि यज्ञका लागि पवित्र मानिन्छन् । यति मात्र होइन कृषि उत्पादन र पर्यावरणीय संरक्षणमा समेत गोरुको मल महत्त्वपूर्ण मानिन्छ । औँसीको दिन भैलो खेलेजस्तै यो दिन देउसी खेल्ने चलन पनि छ । नेपाली संस्कृतिको विशिष्ट पक्षका रूपमा रहेको यसले सामाजिक सद्भाव र छरछिमेकमा भाइचारा र भगिनीसम्बन्ध विकास गर्न मद्दत पुर्याएको छ ।
भाइ तिहार : कार्तिकशुक्ल द्वितीया तिथि भाइटीका, भाइतिहार वा भ्रातृद्वितीयाका नामले चिनिन्छ । यस दिन दयाका खानी दिदीबहिनीहरुले मृत्युदेवताको पूजा गरी आफ्ना दाजुभाइलाई अकाल मृत्युबाट बचाउनुका साथै आयुवृद्दि र सुस्वास्थ्यको कामना पनि गर्दछन् । सधैं बेफुर्सदी दाजु यमराजलाई यमपञ्चकको बेला बहिनी यमुनाले निमन्त्रणा गरेर स्वागत सत्कार र आतिथ्य प्रदान गरी विशेष पूजाअर्चना गर्छिन् । यसरी बहिनीको हार्दिक आतिथ्यबाट यमराज प्रसन्न बनी बहिनी यमुनाप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्छन् ।
दाजुभाइ तथा दिदीबहिनीको प्रेम अमर बनाउने माग यमले पूरा गरेपछि भाइटीकाको सुरुवात भएको यो दिन भ्रातृद्वितीयाका नामले प्रसिद्ध हुन गएको पौराणिक प्रसङ्ग छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली माला लगाई मिष्ठान्न दिने र दाजुभाइले पनि दिदीबहिनीलाई टीका माला लगाई स्नेह र आदरपूर्वक दक्षिणा, वस्त्र आदि दिने चलन छ । आफ्नो दाजुभाइ र दिदीबहिनी नहुनेहरुले पनि यस दिन प्रसिद्ध रानीपोखरीका बिचमा रहेको बालगोपालेश्वर मन्दिरको दर्शन गरी टीकाप्रसाद लगाउने चलन छ ।
टण्डन (२०७९) ले तिहारको रौनक पशुपक्षीहरुदेखि दाजुभाइ र दिदीबहिनीबिच एकआपससमा तथा आफूले आफैलाई म्हःपूजा को रूपमा आत्मसम्मान गर्नुमा पनि रहेको उल्लेख गरेका छन् । उनले उज्यालोको पर्व तिहारले बाहिर मात्र उज्यालो ल्याउने नभई अन्तरहृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले सङ्केत गर्ने धारणा छ ।
शर्मा (२०८३) ले नखेल जुवा र तास धनको नास जीवनको वनवास भनेझैँ जुवातासले कतिपय मानिसको उठिबास हुनु र देउसीभैलोको नाममा जाँडरक्सी सेवन गरी सामाजिक अशान्ति निम्त्याउने तथा झैझगडा गर्ने प्रवृत्ति तिहारको असुन्दर पक्षका रूपमा रहेको बताएका छन् । तिहार रसिलो, मौलिक र सामाजिक चाड हो । तसर्थ चाडबाड मनाउँदा मरम्परागत मान्यता र सामाजिक व्यवस्थाले स्विकार्ने तहसम्म मात्र परिष्कारको खोजी हुनु उपयुक्त हुन्छ ।
यस अवसरमा राष्ट्रलक्ष्मीलाई शोषित, पीडित, दुःखी र दीनहीनका झुप्राझु्रासम्म पुर्याउने अठोट गरे मात्र तिहारको प्रकाशले राष्ट्र प्रकाशित हुने छ र कविशिरोमणि लेखनाथले भनेजस्तै सबै खुसी र सुखी हुन सक्छन् भन्ने डा. ऋषिप्रसादको विचारसँग सहमत हुन सकिन्छ । तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्ने कुरा यसमा खाइने मौलिक परिकारले पुष्टि गर्दछन् । चाडपर्वका अवसरमा एकआपसमा आत्मीयता साटासाट गर्नु तथा सद्भाव र शुभेच्छा प्रकट गर्नु नेपालीको संस्कृति बनिसकेको छ । सबै उमेरसमूहका लागि यो चाड उत्तिकै प्रिय र रमाइलो छ । तिहारको मौलिक अस्तित्व जोगाइराख्न भड्किलो र खर्चिलो तरिकाले नभई श्रद्धापूर्वक खुसीका साथ मनाउनुपर्छ ।
हामी सबैलाई मित्रको आँखाले हेरौं ( मित्रस्य चक्षुषा समीक्षामहे), उदार चरित्र भएका मानिसहरुका लागि त पृथ्वीका सबै मानिस नै कुटुम्ब सरह हुन् (उदार चरितानं वसुधैव कुटुम्बकम्) भनेर सबैसित मैत्रीभाव र मेलमिलाप गरेर बस्नुपर्ने वैदिक तथा लौकिक साहित्यले निर्देशलाई आत्मसात् गरी व्यवहारमा उतार्नु आजको आवश्यकता हो ।
रिसाल (२०६७) को शरदकालीन सुन्दर प्राकृतिक वातावरणमा मनाइने तिहार शारीरिक, भौतिक र मानसिक दुःखसमेत पन्छिएर खुसीयाली, हर्ष र उल्लासको चाड बन्न गएको छ धारणा छ । यस पर्वमा बर्सात्को हिलोमैलो हटेर प्राकृतिक वातावरण सुन्दर बनेझैँ मानिसमा आन्तरिक रूपमा विद्यमान् दम्भ दुर्भाव, अज्ञानतारुपी अँध्यारो हटेर सद्भावना र ज्ञानरुपी प्रकाशको आविर्भाव हुन्छ ।
समग्रमा तिहार भावानात्मक तथा पर्यावरणीय पवित्रता, मानिस र पशुपक्षीबिचको अन्तरसम्बन्ध, मानवीय सद्गुण (प्रेम,स्नेह,आदरभाव, परोपकार, दया,माया, सहानुभूति, मेलमिलाप आदि) को विकास, सुख, शान्ति, समृद्धिको अभिवृद्धिमा सहयोग पुर्याउने विशिष्ट र मौलिक पर्व हो ।
साइबर संस्कृतिले जनमानसमा व्यापक प्रभाव पारी घरभित्र मात्र सीमित बन्न पुगेका बालक तथा युवाहरूलाई देउसीभैलो जस्ता लोकगीत र नृत्यमा सामूहिक रुपमा रमाउने अवसर प्रदान गर्ने हुनाले यस पर्वले सामाजिकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
प्रकाशको पर्व तिहारले हामी सबैमा आत्मीयता, सद्भावना, मेलमिलापको भावना सुदृढ बनाओस् । सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गरोस्, यही छ शुभकामना ।
सन्दर्भसामग्री :
आचार्य, चेतोनाथशर्मा । २०७६ । हाम्रा धार्मिक चाडपर्व । रत्न पुस्तक भण्डार ।
टण्डन, गाविन्द । २०७९ । संस्कृति । सम्पूर्ण किताब ।
रिसाल, विष्णुगोपल । २०६७ । धर्म र संस्कृति । प्रमिला रिसाल ।
शर्मा, ऋषिराज । २०६३ । नेपाल राष्ट्रिय चाडपर्व । रत्न पुस्तक भण्डार ।
शर्मा, ऋषिराज । २०८३ । आधुनिक नेपाली निबन्धमाला । एकता बुक्स ।
(लेखक पोलर स्टार आवासीय माध्यमिक विद्यालय, भरतपुरका प्रधानाध्यापक हुनुहुन्छ ।)





