गैंडाकोट, २३ कात्तिक ।
पठन संस्कृति अभियानको २४औँ शृङ्खला देउसीभैलो भट्याएर उद्घाटन गरिएको छ । कार्यक्रममा पत्रकार जनकराज सापकोटा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । सापकोटा कान्तिपुर मिडिया ग्रुपमा आबद्ध हुनुहुन्छ ।
प्रमुख वक्ता सापकोटाले चितवन र नवलपरासी क्षेत्रमा पठन संस्कृति मौलाउँदै गएको बताउनुभयो । नियमित रूपमा भइरहेका पुस्तक विमर्श, छलफल र विमोचन कार्यक्रममा युवाहरूको सक्रियता लोभलाग्दो रहेको उहाँको भनाइ थियो । यस क्षेत्रका विद्यालय तथा क्याम्पसमा समेत नियमित रूपमा कृति समीक्षा कार्यक्रम हुनुले युवापुस्तामा पठन संस्कृतिको विकास भइरहेको उहाँले बताउनुभयो ।
युवाहरू नयाँ कुरा सिक्न सधैँ उत्सुक हुने उल्लेख गर्दै उहाँले उनीहरूलाई पठन संस्कृतिमा रमाउन सक्ने वातावरण बनाउन सके जीवनलाई सुन्दर बनाउन सकिने बताउनुभयो । पठन संस्कृतिले एकापसमा छलफल गर्न, विमर्श गर्न र सही निर्णयमा पुग्न सहयोग गर्ने उहाँको विश्वास थियो ।
कार्यक्रममा छ जनाले पाठकीय टिप्पणी प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका युवा नेता गणेश उपाध्यायले युवराज सङ्ग्रौलाको ‘निःसङ्कोच अभिव्यक्ति’, शिक्षक गोविन्द रिमालले बीपी कोइरालाको ‘बाबु, आमा र छोरा’, साहारा सापकोटाले कमल पराजुलीको उपन्यास ‘आना’ र शङ्कर आचार्यले जनकराज सापकोटाको पछिल्लो कृति ‘मगनी मरिक’ उपन्यासमाथि टिप्पणी गर्नुभएको थियो ।
त्यसैगरी, न्यू क्यापिटल कलेज रत्ननगरमा अध्ययनरत सक्षम अर्याल र भरतपुर निवासी उमङ्ग लोहनीले क्रमशः अङ्ग्रेजी पुस्तक ‘ओडिसी’ र ‘हाउ डेमोक्रेसी डाइज’ माथि पाठकीय टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रम प्रत्येक महिना सञ्चालन हुँदै आएको छ । विगत दुई वर्षदेखि निरन्तर आयोजना भइरहेको अभियानको यो २४औँ शृङ्खला भएको संयोजक त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।





