कीर्तिपुर । युवराज सामराको आक्रामक शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को १९औँ खेलमा कर्णाली याक्सलाई ६३ रनले हराएको छ ।
पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अल आउट भयो ।
कर्णालीका लागि पवन सराफले सर्वाधिक ३२ रन बनाएको पारीमा अन्य ३ खेलाडीले मात्र दोहोरो रनको स्कोर छुन सके । सिजनको पहिलो जित निकाल्न पोखराका लागि मेहदी हसनले ३ तथा विपिन खत्री, धनञ्जय लक्षन र कुशल भुर्तेलले २-२ विकेट चट्काए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जारी सीजनमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो । एनपिएल इतिहासमा भने यो दोस्रो ठूलो स्कोर हो ।
पोखरालाई विशाल स्कोरसम्म लैजान युवराजले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाएका थिए । उनले २१२.५० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
युवराजले जारी संस्करणको इनपिएलकै पहिलो शतक प्रहार गरेका हुन् । पोखराका लागि कुशल भुर्तेलले ३९ बलमा ७ छक्काको मद्दतमा ६२ रन जोडे । सो क्रममा उनले युवराजसँग दोस्रो विकेटका लागि १३६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। युवराज प्लेयर अफ दि म्याच समेत घोषित भए
पोखराले पावरप्लेमा ४२ रन मात्र बनाएको थियो । यद्यपि भुर्तेल र युवराजबीचको साझेदारीले पोखरालाई ठूलो योगफलसम्म पुर्यायो ।
पोखराका ओपनर मेहेदी हसन १६ बलमा ५ रन बनाएर आउट भएका थिए । उनलाई सोमपाल कामीले दीपक डुम्रेमार्फत क्याच गराएका थिए । पोखराले २७ रन हुँदा पहिलो विकेट गुमाएको थियो ।
अन्तिम ओभरहरूमा कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गरेका थिए । उनले ११ बलमा ३ चौका र ३ छक्कासहित अविजित ३५ रन जोडेका थिए । सन्नी बीके ६ बलमा ३ रन बनाएर अविजित रहेका थिए ।
कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए । मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । अन्य बलरहरू भने विकेटविहीन बनेका थिए ।
जितपछि पोखराले २ अंक बटुलेको छ । जारी प्रतियोगिताको पाँचौं खेलमा आएर उसले हारको शृंखलामा पूर्णविराम लगाएको हो । उसले यसअघिका ४ वटै खेलमा हार बेहोरेको थियो । पोखरा अंकतालिकामा अझै पनि अन्तिम स्थानमा छ भने हारपछि कर्णाली सातौँ स्थानमा यथावत छ । पाँच खेलपछि २ जित र ३ हारसहित उसले ४ अंक जोडेको छ ।





