काठमाडौँ । सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरले चार बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो ।
विराटनगरका लागि बसिर अहमदले ३७ र लोकेश बमले ३३ रन बनाए । इसुरु उडानाले २१ तथा शेहान जयसूर्याले १७ रनको योगदान गरे । पोखराका बलर कुशल भुर्तेल र रमेश मेन्डिसले समान दुई विकेट लिए भने धनञ्जय लक्षानले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो । पोखराका लागि युभराज सामराले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे ।
धनञ्जय लक्षानले १५ बलमा २२ तथा सन्नी बीकेले ११ बलमा १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका सन्दीप लामिछानेले चार ओभरमा २७ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । उनले पोखराको मध्यक्रम र तल्लो क्रमका ब्याटरलाई लगातार आउट गर्दै टोलीलाई सानो योगफलमा समेट्न महत्त्वपूर्ण भूमिका खेले । रुपेश सिंहले एक विकेट लिए ।
यस जितसँगै विराटनगरले लिगमा महत्त्वपूर्ण दुई अंक जोडेको छ । कुल छ खेलमा ३ जितसहित ६ अंकमा विराटनगर चौथौ स्थानमा उक्लिएको छ । उता छ खेलबाट दुई अंक मात्र प्राप्त गरेको पोखरा भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।





