विदेशी पर्यटकसँगै सौराहामा भाइटीका, पूजाकली हात्तीलाई पनि सप्तरङ्गी टीका

चितवन, २५ कात्तिक ।
नेपाली कला, संस्कृति र परम्पराप्रति विदेशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । यसको सुन्दर उदाहरण बनेको छ चितवनको पर्यटकीय नगरी सौराहा । यहाँ विदेशी पर्यटकले नेपाली दाजुभाइसँगै सप्तरङ्गी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन् । दाजुभाइ, दिदीबहिनी र विदेशी पर्यटकसँगै हात्तीलाई समेत टीका लगाएर तिहारको खुसी साटासाट गरिएको छ ।

सौराहास्थित होटल पार्क साइडका सञ्चालक दाजुभाइ शेरबहादुर परियार र शिरलाल परियारले यस वर्ष पनि विदेशी पर्यटकसँगै भाइटीका मनाएका हुन् । उनीहरूले आफ्नी दिदी सावित्री परियारको हातबाट टीका लगाए । आफूहरूले पालनपोषण गर्दै आएको हात्ती पूजाकलीलाई समेत सप्तरङ्गी टीका र सयपत्री तथा सुपारी फूलको माला लगाइदिए । नेपाली परम्पराअनुसार हात्तीलाई समेत टीका र माला लगाइएको दृश्यले विदेशी पर्यटकको ध्यान आकर्षित गरेको थियो ।

नेदरल्यान्ड्सबाट चितवन घुम्न आएका वाइसे र उनकी श्रीमती एलिसका लागि यो अनुभव विशेष बन्यो । करिब एक महिनाअघि नेपाल आएका उनीहरू काठमाडौं हुँदै अन्नपूर्ण सर्किट, पोखरा र बन्दीपुरको भ्रमणपछि चितवन आइपुगेका हुन् । पहिलोपटक नेपाली भाइटीका पर्वमा सहभागी हुन पाउँदा उनीहरू निकै उत्साहित देखिन्थे । नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाउँदा आफूहरू निकै खुसी भएको उनीहरूले प्रतिक्रिया दिए ।

होटल पार्क साइडका सञ्चालक शेरबहादुर परियार आफूहरू २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेको बताउँछन् । विगत सात वर्षदेखि विदेशी पर्यटकसँगै नेपाली चाडपर्व मनाउने परम्परा सुरु गरिएको उनले बताए । पर्यटकलाई घुमाउने र होटलमा राख्ने मात्र नभई नेपाली समाज, संस्कृति र चाडपर्वसँग प्रत्यक्ष जोड्न सके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनको विश्वास छ ।

उनका भाइ शिरलाल परियारले पर्यटकलाई भाइटीकाको महत्त्व र नेपाली परम्पराबारे जानकारी गराउँदै पर्वमा सहभागी गराएका थिए । सप्तरङ्गी टीका, फूलमाला र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता देखेर विदेशी पर्यटक पनि रमाएका थिए ।

यसैगरी, चितवनकै पहिलो पाँचतारे मान्यता प्राप्त होटल रोयल टुलिपका अध्यक्ष रामेश्वर शाहले विदेशी पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका मनाएको देख्दा खुसी लागेको बताए । उनले आगामी वर्षदेखि आफूहरूले पनि पर्यटकलाई नेपाली चाडपर्वमा सहभागी गराउने योजना बनाएको सुनाए ।

पर्यटन भनेको प्राकृतिक सुन्दरता र वन्यजन्तुको अवलोकनमा मात्र सीमित छैन, स्थानीय संस्कृति, रहनसहन र परम्पराको अनुभव पनि हो भन्ने सन्देश सौराहाका पर्यटन व्यवसायीले दिएका छन् । पर्यटकलाई नेपाली चाडपर्वमा सहभागी गराउने यस्ता प्रयासले सौराहाको पर्यटनमा नयाँ आकर्षण थप्नुका साथै नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनसमेत सहयोग पुग्ने देखिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट