अमेरिका, २५ कात्तिक ।
नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टासम्मको छलफलपछि जुरीले यस्तो फैसला सुनाएको थियो ।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका साथी र सहकर्मीसहितका साक्षी प्रस्तुत गरेको थियो । ममताकी साथी सुनिता बस्नेत थापाले अदालतमा बयान दिँदै ममता आत्महत्या गर्ने स्वभावकी नभएको र आफूले त्यस्तो इच्छा व्यक्त नगरेको बताएकी थिइन् । उनले ममताको अनुहारमा चोटसमेत देखेको बयान दिएकी थिइन् ।
अभियोजन पक्षले मुद्दाको सुनुवाइका क्रममा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । तर, नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले पनि अभियोजन पक्षले आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।
ममता सन् २०२४ मा बेपत्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । अनुसन्धानपछि नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।
फैसलापछि सजाय निर्धारण नभएसम्म नरेशलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ मार्चमा निर्धारण हुने तय भएको छ ।





