साहित्य सङ्गम चितवनको ४९औँ वार्षिकोत्सवमा दुईजना स्रष्टा सम्मानित

भरतपुर, २८ कात्तिक ।
साहित्य सङ्गम चितवनको ४९औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा समालोचक सोमनाथ घिमिरे र महाकाव्यकार माधव वियोगी सम्मानित भएका छन् ।

शनिबार आयोजित साहित्यिक समारोहमा घिमिरेलाई २५ हजार १८३ रुपैयाँसहितको ‘मदनमोहन सङ्गम स्मृति पुरस्कार–२०८३’ प्रदान गरिएको हो । साहित्य सङ्गमका संस्थापक अध्यक्ष स्व. मदनमोहन जोशीको स्मृतिमा उहाँका परिवारले उक्त पुरस्कार स्थापना गरेका हुन् ।

त्यसैगरी, महाकाव्यकार वियोगीलाई २५ हजार १८३ रुपैयाँसहितको ‘शिवा–वासु सङ्गम काव्य पुरस्कार–२०८३’ प्रदान गरिएको छ । महाकाव्यकार होमनाथ घिमिरे तथा उहाँको परिवारले माता–पिताको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

कार्यक्रममा साहित्य सङ्गम चितवनका संस्थापक सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा साहित्यकार गिरिराज डल्लाकोटीको लघुकथासङ्ग्रह ‘गवेषण’ को समेत लोकार्पण गरिएको थियो । उक्त कृतिमाथि समालोचक रमेशकुमार श्रेष्ठले टिप्पणी राखेका थिए ।

पुरस्कृत व्यक्तित्वहरूको परिचय क्रमशः साहित्यकार प्रकाश चापागाईं र पुरस्कारका संस्थापक होमनाथ घिमिरेले प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार इन्द्रप्रसाद रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पुरस्कृत व्यक्तित्वद्वय घिमिरे र वियोगीले आफ्नो मन्तव्य राखेको कार्यक्रम साहित्य सङ्गम चितवनका अध्यक्ष शशिकिरण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सङ्गमका सचिव लीलाधर पौडेलले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट