चितवन, २८ कात्तिक ।
नेपाली कांग्रेसलाई समयानुकूल, गतिशील र जनमुखी पार्टी बनाउन आन्तरिक संगठन सुदृढीकरण, नेतृत्व विकास र गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।
शनिबार भरतपुरमा आयोजित कांग्रेसका शुभेच्छुकहरूको छलफल कार्यक्रममा वक्ताहरूले पार्टीभित्रका कमजोरी, विकृति र विसङ्गति हटाउँदै नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।
वक्ताहरूले पार्टीको महाधिवेशनलाई संगठनात्मक विकास र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिएका थिए । साथै सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता र कार्यकर्ताको उचित मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसनिकट बुद्धिजीवी प्रा. डा. ईश्वरी लौडारीले पार्टीको आर्थिक गतिविधि पारदर्शी बनाउन र आर्थिक अनुशासन कायम गर्नुपर्ने बताए । कांग्रेसले सुशासन, पारदर्शिता र जवाफदेहितालाई राजनीतिक अभ्यासमा प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष डा. एकनारायण पौडेलले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दी, अनुचित लाभ लिने प्रवृत्ति र अवसरको असमान वितरण अन्त्य गर्नुपर्ने बताए । इमानदार, योग्य र योगदान गरेका कार्यकर्तालाई जिम्मेवारी तथा अवसर दिनुपर्नेमा उनले जोड दिए ।
कांग्रेस नेता प्रकाश अधिकारीले पार्टीलाई पुरानो कार्यशैलीबाट मुक्त गर्दै विचार, नीति, संगठन र व्यवहारमा सुधार गरेर जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बुद्धिजीवी दयाराम पौडेल, डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) चितवनका अध्यक्ष श्रीराम दवाडीलगायतले मन्तव्य राखेका थिए ।





