पोखराको कीर्तिमानी योगफल, काठमान्डु ५५ रनले पराजित

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको २८औँ खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमान्डु १९.५ ओभरमा १६९ रनमा समेटिएको थियो ।

यस जितसँगै पोखराले प्रतियोगिताको इतिहासमा सर्वाधिक योगफल बनाउने कीर्तिमानसमेत कायम गरेको छ । टस जितेर पहिले बलिङ रोजेको काठमान्डुविरुद्ध पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको थियो ।

पोखराको विशाल योगफल निर्माणमा कुशल भुर्तेल र युवराज सामराले महत्त्वपूर्ण योगदान गरे । दुवैले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरे  ।

भुर्तेल शतक बनाउन एक रनले चुके । उनले ५१ बलमा आठ चौका र आठ छक्कासहित ९९ रन बनाए । जाहान्दाद खानको बलमा साहिल पटेलबाट क्याच आउट हुनुअघि भुर्तेलले १९४.११ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।

सामराले ५५ बलमा आठ चौका र पाँच छक्काको मद्दतमा ८९ रन बनाए । उनी १८.५ ओभरमा रमेश मेन्डिसको बलमा क्याच आउट भएका थिए । सामरा र भुर्तेल दुवैले काठमान्डुका बलरमाथि सुरुदेखि नै दबाब सिर्जना गरेका थिए ।

पोखराका लागि कप्तान चामिका करुणारत्नेले सात बलमा दुई छक्का र एक चौकासहित अविजित १९ रन बनाए । धनञ्जय लक्षण दुई रनमा अविजित रहे । काठमाडौंका करण केसीले दुई तथा जाहान्दाद खानले एक विकेट लिए ।

२२५ रनको लक्ष्य पछ्याएको काठमाडौंले सुरुवातमा केही आक्रामक ब्याटिङ गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । साहिल पटेल र विलियम बोसिस्टोले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए ।

पटेलले २३ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । बोसिस्टोले २२ बलमा तीन चौका र एक छक्काको मद्दतमा २६ रन जोडे । तर, उनीहरू दुवैलाई दिनेश खरेलले आउट गरेपछि काठमाडौंको इनिङ्स दबाबमा परेको थियो ।

राशिद खानले २० बलमा तीन चौका र दुई छक्कासहित ३१ रन बनाए । जाहान्दाद खानले १२ बलमा तीन छक्काको मद्दतमा २४ रन जोडे । सोनु देवकोटाले १४ बलमा चार छक्का प्रहार गर्दै २९ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

काठमान्डुका अन्य ब्याटरले दोहोरो अंकको योगदान दिन सकेनन् । भीम सार्की आठ, सान आर्चिगे एक, कप्तान करण केसी शून्य, सन्तोष यादव शून्य र सुमित महर्जन तीन रनमा आउट भए । गणेश गौतम शून्य रनमा अविजित रहे ।

पोखराका बलरमध्ये दिनेश खरेल सर्वाधिक सफल भए । उनले चार ओभरमा १८ रन खर्चेर चार विकेट लिए । विपिन खत्रीले चार ओभरमा २८ रन दिँदै तीन विकेट हात पारे । कप्तान चामिका करुणारत्नेले दुई ओभरमा १४ रन खर्चेर एक विकेट लिए । यस्तै, रमेश मेन्डिस, युवराज सामरा र सन्नी बीकेले एक–एक विकेट लिए ।

काठमाडौंले अन्तिम पाँच ओभरमा पाँच विकेट गुमाएर ३९ रन मात्रै जोड्न सक्यो । पोखराका बलरले नियमित अन्तरालमा विकेट लिएपछि काठमान्डु १९.५ ओभरमा १६९ रनमा अलआउट भयो ।

जीतसँगै दुई अंक जोडेको पोखराले लिग चरणमा कूल ४ अंक प्राप्त गरेको छ । उसले अंकतालिकामा सातौँ स्थानमा रहँदै लिगको अन्त्य गरेको हो । काठमान्डु भने हारका बावजुद पनि प्लेअफ चरणमा प्रवेश गरेको छ । काठमान्डुले इलिमिनेटरमा चितवन राइनोजको सामना गर्नेछ । यस्तै पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट