काठमाडौं । नीरोजन डिक्वेलाको अर्धशतकप्रेरित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा डिक्वेलाले अविजित ५९ रन बनाए । उनले ३७ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाए । डिक्वेलासँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका रोहित नवौं ओभरमा आउट भए । त्यसपछि सन्दीप जोराले १३ बलमा आठ र दिलीप नाथले अविजित १० रन जोडे ।
सुदूरपश्चिमका थारिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलाइन र हेमन्त धामीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्कट कुगेलाइनले सात तथा आरिफ शेखले चार रन बनाए ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले पनि दुई विकेट हात पारे । किशोर महतो र अभिशेष गौतमले समान एक विकेट लिए ।
पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग क्वालिफायर–२ खेल्नेछ । उक्त खेलको विजेताले फाइनलमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।




