क्यानडा, १ मंसिर ।
क्यानडाको टोरन्टोस्थित स्कारबोरोमा चितवनका लोकप्रिय गजलकार राजन पौडेलको नवीनतम गजलसंग्रह ‘सपनाको बादल’ विमोचन गरिएको छ । फिष्टेल स्पोर्ट्स क्लब र फिष्टेल इन्भेष्टमेन्ट ग्रुपको संयुक्त आयोजनामा स्कारबोरोस्थित ‘द हब’ को सभाहलमा आयोजित साहित्यिक समारोहमा कृति विमोचन गरिएको हो ।
नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष मोहन खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा गजलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले गजलसंग्रहको साहित्यिक महत्त्व, भावनात्मक गहिराइ, साङ्गीतिकता र समसामयिक सान्दर्भिकताबारे चर्चा गरेका थिए । प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र सिर्जनालाई निरन्तरता दिएको भन्दै उनीहरूले गजलकार पौडेलको प्रशंसा गरेका थिए ।
कार्यक्रममा फिष्टेल इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष अनन्त गौतम, साहित्यकार रविन्द्र लम्साल, म्यापल स्टुडियोका प्रबन्ध निर्देशक बालकृष्ण ढकाल, चितवन सोसाइटी क्यानडाका निवर्तमान अध्यक्ष डा. कञ्चन देवकोटा, एनसीसीएसका सञ्चालक समिति सदस्य खगेन्द्र कँडेल, अध्यक्ष सुदर्शन सापकोटा, टीएनएससीका अध्यक्ष कर्ण बटाला, प्राध्यापक डा. हेम गुरागाईं तथा सुरेश गौतमलगायतले कृतिमाथि धारणा राखेका थिए ।
समारोहको दोस्रो चरणमा गजलकार पौडेलले आफ्नो गजलसंग्रहमा समेटिएका १० वटा गजल वाचन गरेका थिए । उनका गजलमा अभिव्यक्त भाव, शब्द संयोजन र लयात्मक प्रस्तुतिले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो ।
`सपनाको बादल’ क्यानडाबाट प्रकाशित पौडेलको दोस्रो साहित्यिक कृति हो। यसअघि उनको मुक्तकसंग्रह ‘अनिदो मन’ प्रकाशित भएको थियो । चितवनको भरतपुर घर भएका पौडेल नेपालमा रहँदादेखि नै साहित्य सिर्जनामा सक्रिय थिए । हाल क्यानडामा रहेर पनि उनले साहित्य पठन र लेखनलाई निरन्तरता दिँदै आएका छन् ।
साहित्यकार डा. गोविन्द सिंह रावतका अनुसार ‘सपनाको बादल’ क्यानडाको नेपाली साहित्यिक क्षेत्रबाट विमोचन भएको ६१औँ कृति हो। गजलसंग्रहका रूपमा भने यो दोस्रो कृति रहेको उनले जानकारी दिए ।
फिष्टेल स्पोर्ट्स क्लबका सचिव कृष्ण पौडेलले सहजीकरण गरेको कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष शैलेन्द्र बर्माले गरेका थिए ।
प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा यस्ता साहित्यिक गतिविधिले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ‘सपनाको बादल’ को विमोचनले क्यानडामा नेपाली गजल लेखन र साहित्यिक गतिविधिको निरन्तरतालाई थप उजागर गरेको छ ।





