ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने मुख्यमन्त्री थापाको भनाइ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सहरी क्षेत्रभन्दा पहिले ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारको पहुँचमा जोड्नुपर्ने बताउनुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज आयोजित छलफल कार्यक्रममा उहाँले ग्रामीण क्षेत्रको विकास र नागरिकको जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गाउँबाट हुने बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा आधारभूत सेवा तथा सुविधाको विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो ।

“सहरभन्दा पनि पहिला ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारमा जोड्नुपर्छ भन्ने मेरो मान्यता हो,” उहाँले भन्नुभयो, “गाउँमा मानिसहरू कसरी टिकाइराख्ने भन्ने विषयमा अहिले बागमती प्रदेश सरकारले काम गरिरहेको छ ।”

मुख्यमन्त्री थापाले स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने सरकार भएकाले स्थानीय सरकारले अघि सारेका विकासका योजना तथा दृष्टिकोणलाई प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । तीनवटै तहका सरकारले समन्वय गरेर स्थानीय आवश्यकता र प्राथमिकताअनुसार विकासका काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

त्रिपुरासुन्दरी र गंगा-जमुना गाउँपालिकाका ठूला पूर्वाधार योजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । साना योजनाहरूको समेत स्रोत सुनिश्चित गरेर कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

“त्रिपुरासुन्दरी र गंगा-जमुनाका केही ठूला पूर्वाधार योजनालाई हामीले बहुवर्षीय योजनाका रूपमा अघि बढाउँदै छौँ । साना योजनाहरूको स्रोत सुनिश्चित गरेर काम गर्दै छौँ,” उहाँले भन्नुभयो ।

बागमती प्रदेशका सबै पालिका र वडाको समानुपातिक विकास आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सडक तथा पूर्वाधारको पहुँचबाट पछाडि परेका स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेषगरी पक्की सडकको पहुँच नपुगेका स्थानीय तहमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो ।

स्थानीय तहमा कतिपय काम कानुनी प्रक्रियाभन्दा व्यावहारिक अभ्यासका आधारमा भइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता कामलाई कानुनी दायराभित्र ल्याएर व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । विकास निर्माण तथा सेवा प्रवाहका काम कानुनअनुसार सञ्चालन हुने प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले आफू यसअघि स्वास्थ्य मन्त्री रहँदा पनि जिल्लाका स्वास्थ्य संस्थाको सुधार र सेवा विस्तारका लागि काम गरेको स्मरण गर्नुभयो । उहाँले त्रिपुरासुन्दरी नगर अस्पतालमा चिकित्सक पठाउनेदेखि बजेट व्यवस्थापन गर्नेसम्मका काम प्रदेश सरकारबाट भएको जानकारी दिनुभयो । गंगा-जमुना गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि पनि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय शिक्षा, सडक तथा अन्य पूर्वाधार निर्माण र स्थानीय आवश्यकतामा आधारित विकास योजनाको कार्यान्वयनमार्फत गाउँमै बस्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट