काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारलाई ‘सेतो हात्ती’ भन्ने भाष्य गलत भएको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरिरहेको दाबी गर्नुभयो ।
बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलको नवनिर्मित ओपीडी भवन उद्घाटन गर्दै बुधबार मुख्यमन्त्री थापाले प्रदेश सरकार खर्चिलो मात्र नभई जनताका लागि काम गर्ने र देखिने सरकार भएको बताउनुभयो ।
उहाँले तीन तहका सरकारको चालु खर्चको तुलनात्मक विवरण प्रस्तुत गर्दै संघीय सरकारको बजेटको ८० प्रतिशत, प्रदेश सरकारको ५ प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत चालु खर्चमा विनियोजन तथा खर्च हुने गरेको दाबी गर्नुभयो । प्रदेश सरकारमार्फत धेरै विकास निर्माणका काम भइरहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री थापाले प्रदेश सरकार गठन भएको नौ वर्षको अवधिमा भएका कामको मूल्यांकन गर्न आग्रह गर्दै जनप्रतिनिधिहरू एकअर्कालाई दोषारोपण गर्नुभन्दा विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भइसकेको उल्लेख गर्दै अब त्यसलाई पूर्णता दिन सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
अब शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर गाउँमै विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले गाउँगाउँमा स्वास्थ्य सेवा र उच्च शिक्षाको व्यवस्था गर्न सके सहर केन्द्रित जनसंख्याको चाप घट्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य सही नभएको बताउँदै उहाँले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । नेपालीको औसत आयु ७२ वर्ष पुग्नुमा स्वास्थ्य सेवामा आएको सुधार पनि प्रमुख कारण रहेको उहाँको भनाइ थियो । संघीयता कार्यान्वयनपछि बागमती प्रदेशले प्रत्येक जिल्लामा प्रादेशिक अस्पताल सञ्चालन गरी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
प्रदेशका गाउँगाउँमा सडक सञ्जाल विस्तार, घरघरमा खानेपानीका धारा, सामुदायिक विद्यालय र आधारभूत अस्पताल निर्माण भएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबीच कामको स्पष्ट जिम्मेवारी र नीतिगत समन्वय हुनुपर्ने बताउनुभयो ।
शीर मेमोरियल एड्भेन्टिस्ट हस्पिटल सामुदायिक अस्पताल भएकाले यसको संरक्षण र विकासमा सबैको सहयोग आवश्यक रहेको मुख्यमन्त्री थापाले बताउनुभयो । आफू स्वास्थ्यमन्त्री रहँदा सामुदायिक अस्पतालको संरक्षण र प्रोत्साहनका लागि ऐन निर्माण गरी अस्पताल दर्ताको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालबाट काभ्रेपलाञ्चोकसहित अन्य जिल्लाका नागरिकले समेत स्वास्थ्य सेवा लिइरहेको उल्लेख गर्दै उहाँले सेवा विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालको ओपीडी भवन निर्माणमा सहयोग गर्ने राजभाइ प्रधानको प्रशंसा गर्दै उहाँले राज्यले मात्रै सबै विकास निर्माणका काम गर्न नसक्ने बताउनुभयो ।
मुख्यमन्त्री थापाले अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको उल्लेख गर्दै उहाँले अस्पतालबाटै क्यान्सर उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
सामुदायिक अस्पताललाई प्रदेश सरकारले सीधै बजेट उपलब्ध गराउन नमिल्ने कानुनी व्यवस्थाका कारण बनेपा नगरपालिकामार्फत वित्तीय हस्तान्तरण हुने गरी अस्पतालका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
क्यान्सर उपचारका लागि आवश्यक उपकरण व्यवस्थापनमा प्रदेश सरकार तयार रहेको बताउँदै उहाँले संघीय सरकारले उपकरण राख्न आवश्यक बंकर निर्माणमा सहयोग गरे प्रदेश सरकारले उपचारमा प्रयोग हुने मेसिन व्यवस्थापनका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अस्पतालको सेवा विस्तारबाट काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।





