रत्ननगर, ३ मङ्सिर ।
‘आइक्याम्पफोर चितवन’ र सपोर्ट एण्ड केयर रत्ननगरको संयुक्त आयोजनामा चितवनमा सञ्चालित पाँचदिने निःशुल्क आँखा शिविरको दोस्रो दिन बुधबार कालिका नगरपालिकाका दुई स्थानमा ६४८ जनाको आँखा परीक्षण गरिएको छ ।
कालिकाको शक्तिखोर स्वास्थ्य चौकी र सिद्धि स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ६४८ जनाको आँखा परीक्षण गरिएको शिविरका संयोजक राजबन्धु गौतमले जानकारी दिए ।
उनका अनुसार शक्तिखोर स्वास्थ्य चौकीमा ४०४ जनाको आँखा परीक्षण गर्दा ४५ जनामा मोतियाविन्दु देखिएपछि शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल ल्याइएको छ । त्यस्तै, सिद्धि स्वास्थ्य चौकीमा २४४ जनाको परीक्षण गर्दा ११ जनालाई शल्यक्रियाका लागि अस्पताल ल्याइएको छ । दुवै स्थानमा परीक्षण गरिएकामध्ये ३०६ जनालाई निःशुल्क चस्मा वितरण गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
यसअघि शिविरको पहिलो दिन मंगलबार मेघौली र माडीमा ९०६ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये ९८ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको थियो ।
ग्रामीण तथा विपन्न क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविर मङ्सिर ५ गतेसम्म चल्नेछ । शिविरअन्तर्गत बिहीबार खैरहनी नगरपालिका–१० को कठार स्वास्थ्य चौकी र इच्छाकामना गाउँपालिका–७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङ्दीमा आँखा परीक्षण गरिनेछ ।
त्यस्तै, मङ्सिर ४ गते राप्ती नगरपालिका–११ स्थित थाकलटार माध्यमिक विद्यालय र अन्तिम दिन मङ्सिर ५ गते रत्ननगर नगरपालिका–९ स्थित सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्रमा शिविर सञ्चालन हुनेछ ।
बिहान १० देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा आइक्याम्पफोर चितवन, सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल तथा रत्ननगर, भरतपुर, कालिका, राप्ती र खैरहनी नगरपालिका एवं इच्छाकामना गाउँपालिकाको सहकार्य रहेको छ ।





