काठमाडौं, ५ मङ्सिर ।
नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ सुरु भएको छ ।
राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा २० देशका ७० भन्दा बढी प्रदर्शक सहभागी भएका छन् ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहेका छन् । त्यहाँ २० देशका २ हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, मेसिन तथा प्रविधि प्रदर्शन र बिक्रीका लागि राखिएका छन् । प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।
नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्ने, किसानलाई नयाँ प्रविधिबारे जानकारी गराउने र स्वदेशी कृषि उपकरण उत्पादक तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, उत्पादनपछिको व्यवस्थापन (पोस्ट हार्भेस्ट), प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित आधुनिक मेसिन, उपकरण र प्रविधि राखिएका छन् । साथै, बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र विक्रेताको सहभागिता रहेको छ ।
प्रदर्शनीले किसानलाई एउटै स्थानमा विभिन्न प्रविधि तथा उपकरणबारे जानकारी लिन, तिनको तुलना गर्न र आवश्यक सामग्रीका विषयमा प्रत्यक्ष जानकारी प्राप्त गर्न अवसर प्रदान गर्नेछ । स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ अभियानसँग सम्बन्धित कम्पनीका स्टलसमेत रहेका छन् ।
कृषि उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र किसानको आधुनिक प्रविधिमा पहुँच विस्तार गर्ने विषयलाई प्रदर्शनीले प्राथमिकता दिएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमार्फत उपभोक्ता तथा नीति निर्मातालाई कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिबारे जानकारी गराउने, कृषि यन्त्र तथा उपकरणको प्रचारप्रसार गर्ने र कृषि यान्त्रिकीकरण प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
प्रदर्शनीले नेपाली किसान, कृषि उद्यमी, कृषि उपकरण व्यवसायी, अनुसन्धानकर्ता तथा नीति निर्मातालाई एउटै मञ्चमा जोड्दै नेपालको कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





