आज ठूली एकादशी, तुलसी विवाहको विशेष धार्मिक महत्त्व

काठमाडौं, ४ मङ्सिर ।
आज हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदैछ । एकादशीमध्ये सबैभन्दा ठूलो मानिने भएकाले यस पर्वलाई ‘ठूली एकादशी’ पनि भन्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझनुहुने विश्वास छ । त्यसैले यस दिनलाई हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने गर्नुहुन्छ ।

हरिबोधिनी एकादशी तुलसी विवाहको दिनका रूपमा पनि प्रसिद्ध छ । यस दिन तुलसी र भगवान् शालिग्रामको विधिपूर्वक विवाह गराउने धार्मिक परम्परा छ । वैदिक सनातन संस्कारमा तुलसीलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ ।

जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा तुलसीको बिरुवा तथा पात प्रयोग गर्ने चलन छ । हिन्दू धर्मावलम्बीले घरको आँगनमा तुलसीको मठ बनाएर नियमित पूजा आराधना गर्ने गर्नुहुन्छ ।

तुलसी विवाहको धार्मिक महत्त्व

धार्मिक विश्वासअनुसार हरिबोधिनी एकादशीका दिन तुलसी र भगवान् शालिग्रामको विधिपूर्वक विवाह गराउँदा वैवाहिक जीवनमा आइरहेका समस्या हट्ने र दाम्पत्य जीवन सुखमय हुने मान्यता छ ।

विवाह नभएका व्यक्तिको विवाह हुने तथा तुलसी विवाह गराउँदा कन्यादान गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ ।

तुलसी विवाहको पौराणिक कथा

पौराणिक कथाअनुसार वृन्दा नाम गरेकी एक पतिव्रता स्त्री हुनुहुन्थ्यो । उहाँका पति जालन्धर अत्यन्त शक्तिशाली र देवताहरूका विरोधी हुनुहुन्थ्यो । वृन्दाको पतिव्रता धर्मका कारण जालन्धर अजेय बनेका थिए । उहाँको शक्तिका अगाडि भगवान् शिवसमेत जालन्धरलाई पराजित गर्न असमर्थ हुनुभएको पौराणिक कथामा उल्लेख छ ।

जालन्धरको अत्याचारबाट मुक्ति पाउन देवताहरूले भगवान् विष्णुसँग सहयोग माग्नुभयो । त्यसपछि भगवान् विष्णुले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रता धर्म भंग गरिदिनुभयो । आफ्नो पतिव्रता धर्म नष्ट भएको थाहा पाएपछि वृन्दाले भगवान् विष्णुलाई श्राप दिनुभयो र पछि आत्मदाह गर्नुभयो ।

वृन्दाको चिताको खरानीबाट एउटा वनस्पति उम्रियो । भगवान् विष्णुले त्यस वनस्पतिलाई तुलसी नाम दिनुभयो । त्यस्तै, वृन्दासँगै रहेको एउटा ढुङ्गालाई आफ्नो स्वरूपका रूपमा शालिग्राम नामले प्रसिद्ध हुने वरदान दिनुभयो ।

यसरी भगवान् विष्णुले तुलसी र शालिग्रामलाई विशेष महत्त्व दिनुभएको धार्मिक कथन छ । यही पौराणिक मान्यताका आधारमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गराउने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

हरिबोधिनी एकादशीका दिन तुलसी विवाहसँगै भगवान् विष्णुको विशेष पूजा आराधना, व्रत, दान तथा भजनकीर्तन गर्ने परम्परा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट