विनोदबाबु रिजालद्वारा लिखित ‘नैबेद’ कथासङ्ग्रह उहाँको आख्यान विधातर्फको पहिलो कृति हो । यसअघि उहाँको ‘एकान्तबास’ लकडाउन डायरी (२०७७) प्रकाशित छ ।
२६४ पृष्ठ रहेको ‘नैबेद’ मा १४ वटा कथाहरु समावेश छन् । कथावस्तु र कथानकका दृष्टिले फरकफरक भए पनि यी कथाहरूलाई नेपाली समाजका सामाजिक विकृति विसंगति र मानवीय संवेदनाले जोडेको देखिन्छ।
सरल र सहज भाषामा लेखिएका कथाहरूले अन्धविश्वास, लैङ्गिक तथा वर्गीय विभेद, वैदेशिक रोजगारी, शिक्षाको व्यापारीकरण, प्रविधि र मानव अस्तित्व तथा प्रेम, मातृत्व र सामाजिक मूल्य–मान्यता मनोवैज्ञानिक प्रभाव जस्ता विषयलाई विभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् ।
मैले सबै कथालाई हतार नगरी, प्रत्येक कथा सकेपछि त्यसले उठाएका प्रश्नमाथि सोच्दै पढेँ। पढे पछि लाग्यो लेखक सस्पेन्स थ्रिलर कथाहरु धेरै मन पराउनुहुन्छ। कथाहरुमा कथानक त्यस्तै थ्रिलर र सस्पेन्समै सकिन्छन् । मलाई महसुस भएको कुरा, लेखकले आफ्ना पात्रलाई सजिलै दोषी वा निर्दोषको कित्तामा उभ्याएका छैनन् । उनीहरूलाई त्यस्तो निर्णय लिन सामाजिक र मनोवैज्ञानिक परिस्थितिले कसरी बाध्य बनाएका छन् भनेर सोच्नुपर्ने गरी लेखिएका छन्।
मन परेको कथा: ‘क्याप्टेन डाँडा’
यस सङ्ग्रहमा मलाई सबैभन्दा मन परेको र चोटिलो लागेको कथा ‘क्याप्टेन डाँडा’ हो। सुरुआतमा यात्रा–संस्मरणजस्तो लाग्ने यो मलाई मन पर्ने विधा पनि हो । कथा क्रमशः समाजको एउटा कुरूप यथार्थतर्फ पुग्छ। आफ्नै समाज सुधारौँ, विकास गरौँ भनेर आफ्नो जिउधन लगाउने मानिसहरूलाई जीवित छँदा अनेकौँ आरोप, गाली र प्रपञ्चमार्फत असफल देखाउन खोज्ने, तर उनीहरूको मृत्युपछि भने गुणगान गाउने समाजको चरित्रलाई कथाले प्रभावशाली ढङ्गले प्रस्तुत गरेको छ। कथाले उठाएको प्रश्न, समाज परिवर्तनका लागि केही गर्ने मानिसलाई हामी उसको जीवनकालमै कति स्वीकार गर्छौँ र उसको मृत्यु भएपछि मात्र किन सम्झन्छौँ यो सबै पाठकको मनमा बसिरहन्छ । यात्री र पूर्णबहादुर रानाबीचको भेट र संवादमार्फत अघि बढ्ने कथा कल्पनाशील शैलीमा पात्रका संघर्ष र सामाजिक यथार्थलाई देखाएको छ।
कथाकारको शैली
यस्तो कल्पना शैली ‘लिली गार्डेन’, ‘अन्तिम चुम्बन’, ‘अकाल’ र ‘शिविर’मा पनि फरक–फरक कथानकको रूपमा प्रयोग भएका छन् । यसले कथालाई केवल बाहिर भइरहेको घटनाको विवरणमा सीमित नराखी पात्रभित्रको मनोविज्ञानसम्म पुर्याउने काम गरेको छ।

समाजका मूल्य–मान्यता र त्यसबाट उत्पन्न मनोवैज्ञानिक दबाबको उठान
सङ्ग्रहका धेरै कथाले उठाएको मुख्य केन्द्रमा समाजले व्यक्तिमाथि थोपर्ने मूल्य–मान्यता, अन्धविश्वास र त्यसबाट उत्पन्न मनोवैज्ञानिक दबाब देखिन्छ। विशेषगरी सन्तान प्राप्तिसँग जोडिएको सामाजिक दबाबले महिलाभित्र उत्पन्न मनोवैज्ञानिक दबाबले पीडित महिलालाई कुन हदसम्मको कदम उठाउन बाध्य बनाउँछ भन्ने कुरा ‘भोग’ र ‘शिविर’मा निकै भयावहरूपमा आएका छन् । नि:सन्तान हुनुमा महिलाकै कमजोरी देखाउने सामाजिक सोचले गर्दा एक पीडित महिला कसरी अन्धविश्वासको सहारा लिनुपर्ने बाध्यतामा पुग्छन् र त्यसबाट उत्पन्न हुने बच्चाहरुको बलि दिनेसम्मको अर्को अमानवीय कदम चाल्न कसरी पुग्छन् भन्ने कुरा ‘भोग’ कथाले देखाएको छ ।
‘शिविर’कथाले नि:सन्तानपनबाट पीडित महिलाले सन्तानको अभाव पूर्ति गर्न बेवारिसे बच्चाहररू अपनाउने एउटा मानवीय कर्तव्य पूरा गर्न जाँदा अनाथ र बेबारिसे बालबालिकालाई परिवार दिलाउने नाममा हुने शिशु व्यापारको अर्को कुरूप पाटो पनि देखाएको छ।
‘माहिली’मा भने लामो समयपछि निःसन्तानको समस्या समाधान हुँदा पनि पुरुषप्रधान सोच र अविश्वासबाट महिलाले पाउने गरेको हिंसा र अपमान भोग्नुपरेको विडम्बना छ। माहिलीले आफ्नो प्यारो सन्तान र श्रीमानलाई छोडी गोपी पात्रसँग भागेर गरेकाे विद्रोह पितृसत्तात्मक मानसिकताविरुद्धको प्रतिरोध बनेर आउँछ। याे कथा मानव बेचबिखनतिर पो गयाे कि भन्ने लागेको थियो तर कथा बाटोमै अर्कै माेडमा पुगेर सकिन्छ ।
सन्तान र मातृत्वकै प्रसङ्गमा ‘अपहरण’ले भने अर्को भावनात्मक पाटो खोल्छ। विक्रम र सरलाको कथामार्फत भ्रुण हत्यासँगै सन्तानप्रतिको माया र मातृत्वको शक्ति कति गहिरो हुन्छ भन्ने कुरा कथाले देखाउँछ।
अन्धविश्वासले मानिसको विवेक र चेतनामाथि पार्ने प्रभावको उठान
‘दोस्रो बिहे’ र ‘बोक्सी’मा अन्धविश्वासले मानिसको विवेक र चेतनामाथि पार्ने प्रभावलाई मनोवैज्ञानिक तहमा प्रस्तुत गरिएको छ। ओैँशीमा जन्मिँदैमा अन्धविश्वासको पछि लागेर मनभरिको डर र सामाजिक दबाबले मानिसलाई आफ्नो विवेक र चेतना प्रयोग गर्न समेत बिर्सिन्छन् । मानिस आफैँभित्रको डर, सामाजिक दबाब र अन्धविश्वासको जालोमा फस्दै जाँदा कसरी आफ्नै आमालाई समेत बोक्सी देख्न थाल्छ र मानिस आफैँ चेतनशील भएर पनि समाजले कसरी विवेकही र न चेतना शून्य बनाउँदै विसङ्गतितर्फ धकेल्न पुग्छ भन्ने कुरा यी कथामा देखिन्छन्।
आधुनिक समाजका मुद्दाहरुको उठान
अर्कोतर्फ, ‘बाध्यता’, ‘टाई’, ‘एक्सन कट’ र ‘अर्की गर्लफ्रेण्ड’ जस्ता कथाले समकालीन समाजका फरक–फरक प्रश्न उठाएका छन्। ‘बाध्यता’ले वैदेशिक रोजगारीको विवशता र त्यससँगै आउने सामाजिक विकृतिलाई देखाउँछ, जुन अहिलेको समाजमा भयावह रूपमा प्रकट भएका छन् ।
त्यस्तै टाई’ले शिक्षा प्रणालीको व्यापारीकरणसँगै त्यसमा रहेको वर्गीय विभेद र मानवताको उपेक्षामाथि व्यङ्ग्य गर्छ। ‘एक्सन कट’ले प्रतिभा र अवसरबीचको दूरीलाई देखाउँदै पहुँच र प्रभावका कारण योग्यताहरू कसरी अवसर नपाउँदै तुहिन्छन् भन्ने प्रश्न उठाउँछ।
‘अर्की गर्लफ्रेण्ड’ले अहिलेकाे समयमा मानिसको प्रविधिसँगको बढ्दाे निर्भरता र यसले भविष्यमा मानव अस्तित्व र प्रविधिबीच उत्पन्न गर्न सक्ने द्वन्द्वलाई देखाएको छ । याे कथा पढिरहँदा भविष्यमा प्रविधिले मानवको प्रेम र भावना बुझ्न थाल्यो भने मानवको अस्तित्व के होला मनमा लागिरहन्छ ।
प्रेम, गरिबी र मानवताको उठान
‘लिली गार्डेन’ले प्रेम प्राप्ति मात्र होइन, अनुभूति पनि हो भन्ने भावलाई प्रस्तुत गरेको छ। विवेक र श्रेयाको कथामा रहेको अधुरोपनले प्रेमको स्मृतिसँगै बाँच्न सकिने अर्को सम्भावना देखाउँछ। ‘अन्तिम चुम्बन’ भने गरिबी, अशिक्षा र आवेगमा गरिएका निर्णयले निम्त्याउने पीडासँगै बेसहारा महिलाको जीवन र मानवताको आवरणमा सञ्चालन हुने आश्रमभित्रको कमाउ धन्दालाई उजागर गर्छ। देहव्यापारलाई समेत कथाले केवल नैतिकताको दृष्टिकोणबाट मात्रै नहेरी मानवीय परिस्थिति र विवशताको दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छ।
‘अकाल’ले महामारीको समयमा देखिएको भय, असुरक्षा र समाजमा कमजोर हुँदै गएको मानवतालाई सम्झाउँछ। काठमाडौँबाट हिड्दै फर्केको छोरोलाई निर्धक्क घर प्रवेश गर्न समेत रोक्ने आमाको बोलीले संकटको बेला मानवता झनै कमजोर हुँदै गएको देखाउँछ ।
यसरी हेर्दा ‘नैबेद’ का कथा विषयका हिसाबले फरक भए पनि मानिस र समाजबीचकै सम्बन्धमा जोडिएको देखिन्छ।
पात्रको व्यवहार सामाजिक दबाबले बदलिन्छ, कतै अन्धविश्वासले बदलिन्छ । यसरी सबै कथाहरूमा लेखकले आफ्ना पात्रलाई सजिलै दोषी वा निर्दोषको कित्तामा उभ्याएका छैनन् । हरेक व्यवहार र कदम त्यसै उठाइँदैन, यो पाठकको हेर्ने दृष्टिकोणमा छोडिएको छ । यसरी सङ्ग्रहमा समावेश १४ कथाहरूले समाजका विकृतिहरूलाई उठान गरेको छ ।
असहज महसुस भएका कुराहरू
पाठकका रूपमा कथा पढ्दै जाँदा मलाई अलमल लागेका र असहज बनाएका केही पक्ष पनि छन् :
- राम्रै मूल्य तिरेर पुस्तक किनेर पढिरहँदा कागजको पन्ना अलिकति बाक्लो भइदिएको भए हुन्थ्यो भन्ने महसुस अन्तिमसम्मै भइरह्यो । केही पृष्ठमा पन्नाको अर्को पट्टिका अक्षरसमेत देखिने भएकाले पढ्दा असहज महसुस हुन्छ । यसतर्फ प्रकाशकको ध्यान गएको भए अझ राम्रो हुने थियो ।
- ‘नैबेद’ शब्द सांस्कृतिक अर्थ बोकेको शब्द भए पनि पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई बलि दिएर भगवानलाई चढाउने जस्तो भयावह प्रसङ्गसँग यसलाई जोडिँदा शीर्षकले नै एक किसिमको मानसिक झट्का दिन्छ।
- ‘अपहरण’मा भने केहि कुरामा तालमेल नमिलेको हो कि भन्ने लाग्यो । “हात कुर्सीको पछाडि लगेर बाँधियो” पृष्ठ १७४ “केटीको हातबाट पानी थुतेर उसले एकै सासमा पिएर सकाइदियो” पृष्ठ १८३ र “उसले शरीरको सबै बल हातमा बाँधिएका सलमा केन्द्रित गर्यो, फुकाउन सकेन” पृष्ठ १८८ यी एकआपसमा तालमेल नमिलेको हो कि जस्तो लाग्यो ।
अन्त्यमा, कथासङ्ग्रहको विशेषताकाे रूपमा हरेक कथा सकिएपछि त्यसको अर्थ र अन्त्यलाई आफ्नै ढङ्गले बुझ्ने ठाउँ कथाहरुमा रहेको छ ।
समाजलाई सतहीरूपमा नभई त्यस समाजभित्रको मानवीय विवशता, सङ्घर्ष, विद्रोह र मानसिक विरोधाभास हेर्न र पढ्न खोज्ने पाठकहरूका लागि ‘नैबेद’ पढ्नै पर्ने कथासङ्ग्रह हो ।
साथै साहित्य पढ्न सुरु गरेका पाठकले पनि सहजै पछ्याउन सक्ने सरल भाषा र साहित्यिकरूपमा ओझिलो बनाउन प्रयोग गरिने बिम्व अलङ्कारहरुको निकै कम प्रयोग गरी समाजका विविध गम्भीर विषयहरू उठान गरिएकाले पनि नैबेद एकपटक पढ्नै पर्ने कथासङ्ग्रहको रूपमा आएको छ ।





