काठमाडौंमा नेपाल–जापान फेस्टिभल सम्पन्न, ४६ वर्षपछि गोडाइगोको प्रस्तुति

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान फेस्टिभल २०२६’ सम्पन्न भएको छ ।

फेस्टिभलमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल, उपसभामुख रुबी कुमारी शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाह, नेपालका लागि जापानी राजदूत तोरु माएडा, जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजीई काजुहिरो तथा नेपाल–जापान फेस्टिभल २०२६ कार्यकारी समितिका अध्यक्ष सौरभ ज्योति लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभामुख अर्यालले नेपाल–जापान सम्बन्ध कूटनीतिक दायरामा मात्र सीमित नरहेको बताउनुभयो । आपसी विश्वास, मित्रता, सद्भावना तथा सांस्कृतिक आदानप्रदानमा आधारित सम्बन्धलाई यस्ता महोत्सवले थप प्रगाढ बनाउने उहाँको भनाइ थियो ।

कार्यक्रममा जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजीई काजुहिरोले दुई देशबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको स्मरण गर्नुभयो । उहाँले नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित नागरिकप्रति जापान सरकार र जापानी जनताका तर्फबाट समवेदना व्यक्त गर्दै नेपालको पुनःस्थापना तथा पुनर्निर्माणमा जापानको ऐक्यबद्धता रहेको बताउनुभयो ।

नेपालका लागि जापानी राजदूत तोरु माएडाले महोत्सवमा सहभागी अतिथि तथा सर्वसाधारणलाई स्वागत गर्दै नेपाल र जापानबीचको सात दशक लामो मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानी कला, संस्कृति, खानालगायतका विषयमा नेपालीहरूको चासो र सहभागिताप्रति आभार व्यक्त गर्नुभयो ।

त्यसैगरी, महोत्सव आयोजक समितिका अध्यक्ष सौरभ ज्योतिले दुई देशका संस्कृति, परम्परा र समुदायबीचको सम्बन्ध विस्तारमा महोत्सवले सेतुको काम गर्ने बताउनुभयो ।

सोलिडारिटी थ्रु कल्चर’ अर्थात् संस्कृतिमार्फत ऐक्यबद्धता भन्ने नारासहित आयोजित महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीत प्रस्तुत गरिएको थियो । महोत्सवको मुख्य आकर्षण जापानको चर्चित सांगीतिक समूह गोडाइगोको प्रस्तुति रह्यो । सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत भएको हो ।

सन् १९७६ मा स्थापना भएको गोडाइगोले आफ्नो सांगीतिक यात्राको पाँच दशक पूरा गरेको अवसरमा नेपालमा विशेष प्रस्तुति दिएको हो । उक्त प्रस्तुति हेर्न जापानबाट ११० जना विशेष पाहुना काठमाडौं आएको आयोजकले जानकारी गराएको थियो ।

महोत्सवमा जापानी कोतो वादन, ताइको ड्रम, मार्सल आर्टअन्तर्गत आइकिडो, जुडो, कराते र केन्डो, क्यालिग्राफी तथा अन्य सांस्कृतिक गतिविधि प्रस्तुत गरिएको थियो । नेपाली संस्कृतितर्फ नेवार समुदायको लाखे नाचसहित गुरुङ, शेर्पा, राई र थारू समुदायका सांस्कृतिक प्रस्तुतिहरू समावेश थिए ।

सांगीतिक प्रस्तुतिमा कुटुम्ब, स्वप्न सुमन एन्ड द फेरो, कोबवेब लगायतका नेपाली कलाकार तथा ब्यान्डहरूको सहभागिता रहेको थियो । महोत्सवमा विभिन्न व्यापारिक तथा सांस्कृतिक स्टल, खानाका परिकार र दुई देशका नागरिकबीच सांस्कृतिक आदानप्रदानका गतिविधिसमेत सञ्चालन गरिएको थियो ।

नेपाल–जापान महोत्सव २०२६ को आयोजना नेपाल–जापान महोत्सव कार्यकारी समितिले गरेको थियो । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र जापानबीच विकास सहयोग, शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारलगायतका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट