कवितावाचनमा ३ कवि : समाज र समयको स्वर

भरतपुर, २२ माघ ।
अक्षर समूह चितवनले आयोजना गरेको `कवितावाचनमा ३ कवि´ कार्यक्रममा ३ जना कविले १८ वटा कविता सुनाउनुभएको छ । कविहरू विश्वनाथ खनाल, राधा पाण्डे र कृष्ण विश्वकर्मा `सतिसाल´लाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिनुभयो ।

शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजको आतिथ्यमा गरिएको कार्यक्रममा ३ जना कविले ६/६ वटा गरेर कुल १८ वटा कविता प्रस्तुत गर्नुभएको हो । तीनैजना कविले समसामयिक सन्दर्भमा कविता सुनाउनुभयो ।

कवितावाचनपछि अक्षर समूहका संस्थापक भूपिनले समीक्षात्मक टिप्पणी राख्नुभयो । कविहरू कवितामार्फत खबरदारी गर्न सिपालु हुनुपर्ने उहाँले बताउनुभयो । `कविलाई समाजले मात्रै होईन, सत्ताले पनि रोक्न सक्दैन´, भूपिनले बताउनुभयो । `कवि सतिसालले कवितामार्फत समाजलाई र राज्यलाई खबरदारी गर्नुभएको छ´, भूपिनले भन्नुभयो – `उहाँले आफ्ना कवितामा विचारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।´ त्यसैगरी कवि खनालका कविता सरल भएको उहाँले बताउनुभयो । `खनालजीका कविता सरल छन् । सरलतामा समाज चित्रण छ ।´, भूपिनले भन्नुभयो ।

त्यसैगरी कवि पाण्डेका कवितामा नारीपीडा, विद्रोह र समानतामूलक समाजको कल्पना समेटिएको उहाँले बताउनुभयो । भूपिनले भन्नुभयो – `कवि पाण्डेका कविताले मानवीय समवेदना पक्रेका छन् । कवितालाई अनुभव र समाजसँग जोड्नु कवि पाण्डेको काव्यिक कसरत हो ।´

भरतपुर – ११ आँपाटारी निवासी कवि सतिसालको खास नाम कृष्ण विश्वकर्मा हो । उहाँको २०७५ सालमा `भोकको लय´ कवितासङ्ग्रह प्रकाशित छ भने `हजारौं वर्षको आक्रोश´ कवितासङ्ग्रह प्रकाशोन्मुख छ । दलित, आदिवासी जनजाति साथै पिछडिएका वर्गको आवाजलाई उहाँले कवितामार्फत उजागर गर्न रुचाउनुहुन्छ ।

रत्ननगर नगरपालिका – १३ जयमङ्गला निवासी कवि विश्वनाथ खनाल कवितासँगै कथा लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँको पहिलो प्रकाशित कृति शहिदहरूको विरोधपत्र (२०७६) लघुकथासङ्ग्रह हो । २०८१ सालमा `फूलहरू´ कवितासङ्ग्रह प्रकाशित छ । उहाँ रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य सचिव हुनुहुन्छ ।

कवि राधा पाण्डेको घर गैंडाकोट हो । गैंडाकोट प्रज्ञाप्रतिष्ठानसँग आवद्ध उहाँ उक्त संस्थामा संस्कृति विभाग प्रमुख हुनुहुन्छ । उहाँका दुईवटा कृति `गुनासाहरू´ कवितासङ्ग्रह (२०६४) र `उजुरी´ कथासङ्ग्रह (२०७०) प्रकाशित छन् । कथा र कविता लेखनमा उहाँ सक्रिय हुनुहुन्छ ।

कार्यक्रमलाई अक्षर समूहका सचिव विनोदबाबु रिजालले सञ्चालन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट