चितवन, १ असोज ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो ।
‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई कृतिका प्रमुख शक्ति मानिएको छ । व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको भन्दै ‘सलह’लाई छनोट गरिएको हो ।
त्यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ ।
‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचामार्फत प्रस्तुत गर्दै आएका छन् । उनी लीला लेखनका व्याख्याताका रूपमा समेत परिचित छन् ।
यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् । ‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन् ।
संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्य गरिसकेका आचार्यले नेपाली भाषा, साहित्य तथा कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान पुर्याएको प्रतिष्ठानले जनाएको छ ।
तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।





