गण्डकी इन्टर स्कुल टी–२० कप खेल्न विजय सामुदायिक शिक्षा सदनको टोली पोखरा प्रस्थान

गैँडाकोट, ३० भदौ ।
पोखरामा आयोजना हुने गण्डकी इन्टर स्कुल टी–२० कप २०२६ क्रिकेट प्रतियोगितामा सहभागी हुन गैँडाकोटको विजय सामुदायिक शिक्षा सदनको टोली मंगलबार पोखरा प्रस्थान गरेको छ ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थी खेलाडीलाई विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय परिवार तथा खेलकुद क्षेत्रका प्रतिनिधिले विदाइ गर्दै सफलताको शुभकामना दिएका छन् । उनीहरूले अनुशासन, मेहनत र टिम भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे ।

गैँडाकोट नगरपालिका–५ वडा खेलकुद विकास समितिका संयोजक दोर्णवन सन्न्यासीले प्रतियोगिता जित्नु मात्र खेलाडीको सफलता नभएको बताउँदै अनुशासन, मेहनत र टिम भावनालाई प्राथमिकता दिएर खेल्न आग्रह गर्नुभयो । उहाँले खेलका नियम तथा अनुशासन पालना गर्दै विद्यालय र गैँडाकोटको नाम उच्च राख्न शुभकामना दिनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपीनाथ खरेलले विद्यालयको प्रतिनिधित्व गर्दै मैदानमा खेल्दा व्यक्तिगत प्रदर्शनसँगै विद्यालयको प्रतिष्ठासमेत जोडिने भएकाले खेलमा केन्द्रित भएर प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुदलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

प्रधानाध्यापक वीरभद्र सापकोटाले खेलाडीलाई सफलताको शुभकामना दिँदै अध्ययनसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद, अनुशासन र असल संस्कारलाई विद्यालयले प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले खेलमा जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

विद्यालयका सहायक प्राचार्य विकल सापकोटाका अनुसार प्रतियोगिताका लागि १४ जना विद्यार्थी खेलाडी, प्रशिक्षक खिम मल्ल र विद्यालय समितिका तर्फबाट लक्ष्मण कार्कीसहित १६ जनाको टोली पोखरा गएको छ । विजय सामुदायिक शिक्षा सदनले प्रतियोगितामा आफ्नो पहिलो खेल बुधबार खेल्नेछ ।

विदाइ कार्यक्रममा वडा खेलकुद विकास समितिका सदस्य ईशा अधिकारी, विद्यालयका व्यवस्थापक टीका कँडेल, राष्ट्रिय रेफ्री गजेन्द्र वन, अभिभावक तथा विद्यार्थी खेलाडीको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट