चितवन, २८ भदौ ।
पेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ स्थापना दिवस सदस्य शिक्षा, सम्मान तथा अन्तर्क्रिया कार्यक्रमसहित सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा सहकारी प्रशिक्षक तथा नेफ्स्कुनका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेल प्रमुख अतिथि तथा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सहकारी सदस्य शिक्षा, ऋण शिक्षा तथा अभिमुखीकरणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । संस्थाका सचिव बालकृष्ण दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष डा. मधुसुदन लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका कोषाध्यक्ष अरुण सिवाकोटीले संस्थाको आर्थिक कारोबारसम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो । लेखापरीक्षक सीए मोहसिन खानले लेखापरीक्षणका क्रममा प्राप्त अनुभव तथा संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार गजेन्द्र अधिकारी र बद्रीप्रसाद अर्याल, लेखा सुपरिवेक्षण समिति संयोजक माधव खतिवडा, सेयर सदस्यका तर्फबाट खेमकुमारी इटनी घिमिरे, राष्ट्रिय सहकारी बैंक रत्ननगर शाखा प्रमुख किरणकुमार राई तथा प्राविधिक सल्लाहकार निरज घिमिरेको उपस्थिति थियो ।
स्थापना दिवसका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा संस्थामा उत्कृष्ट योगदान पुर्याउने सदस्य, बचतकर्ता तथा व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट बचतकर्तातर्फ अम्बिका भट्ट पन्त, रूपा पाण्डे, इन्जिनियर श्रीकृष्ण श्रेष्ठ, जगदीश अर्याल, इन्जिनियर नरेन्द्र गिरी, राजकुमार बानियाँ, प्रमिला सिमखडा, तारा श्रेष्ठ, लक्ष्मी कुमारी गुरुङ, अनिता सिटौला, सीता कोइराला, कृष्णप्रसाद रेग्मी, रामकाजी श्रेष्ठ, लिलाराज सुवेदी, रामचन्द्र पराजुली र सावित्री दुलाल सम्मानित हुनुभएको छ ।
त्यस्तै, उत्कृष्ट बाल बचतकर्तातर्फ एलिना खतिवडा, आरम्भ पराजुली, समृद्धि कुँवर, इशिका त्रिपाठी, प्रिन्सेस ओझा, विभान ढकाल र कृष्मा खड्का पुरस्कृत हुनुभएको छ ।
उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले मोहनप्रसाद गजुरेल, रामप्रसाद तिमिल्सिना, कविराज दुवाडी, दीपक महतो, सुरेश भट्ट, भरत पाण्डे, गिरिराज भट्टराई, बन्दना गुरुङ, उदयबहादुर भुजेल, ठाकुरप्रसाद खरेल, अन्जु सेन र गीता आचार्यलाई उत्कृष्ट उद्यमी तथा व्यवसायीका रूपमा सम्मान गरिएको छ ।
संस्थागत योगदानतर्फ पीताम्बर दाहाल, मीरा श्रेष्ठ, तेजप्रसाद ढकाल र श्यामबाबुप्रसाद कलवारलाई सदस्य सम्मान प्रदान गरिएको छ। यस्तै, सेयर सदस्यका छोराछोरीमध्ये माध्यमिक तह (+२) मा उत्कृष्ट नतिजा हासिल गर्ने प्रसन्न पौडेल र लक्ष्मी लामिछानेलाई विशेष पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
यसैबीच, संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवाको भोटेकोसीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ५१ हजार १ सय ११ रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाको दैवीप्रकोप राहत कोषमार्फत उक्त सहयोग प्रदान गर्ने निर्णय भएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रमबारे संस्थाका सहकारी व्यवस्थापक किशोर भट्टराईले जानकारी गराउनुभएको हो ।





