भारतबाट अवैध रूपमा ल्याइएका १ करोड १५ लाखका मोबाइल एसेसरिज नियन्त्रणमा

परासी, २६ भदौ ।
पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब १ करोड १५ लाख रुपैयाँ मूल्यका मोबाइल एसेसरिजसहित प्रहरीले एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सरावल गाउँपालिका–५ स्थित भन्सार टोलमा भारतबाट नेपालतर्फ ल्याई लु ३ च २९३९ नम्बरको पिकअपमा लोड गरिएको अवस्थामा उक्त सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षकसहित खटिएको टोली र बीओपी भुजहवाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले सामान फेला पारी पिकअपसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामानमा सेतो रङका एयरपड्स १ हजार ७६५ थान, कालो रङका एयरपड्स ५३८ थान, कालो टेम्पर ग्लास ३९ हजार ८०० थान, सेतो टेम्पर ग्लास ४ हजार ५०० थान, मोबाइल कभर १३० थान र एक बोरा प्लास्टिक रहेका छन्।

बरामद सामान तथा पिकअप गाडीको अनुमानित कुल मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको पिकअप तथा बरामद सामानलाई आवश्यक कारबाही र अनुसन्धानका लागि भन्सार कार्यालय बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट