गैंडाकोट, २६ भदौ ।
गैंडाकोट–१ स्थित मौलाकालिका मन्दिर परिसरमा शनिबार बृहत् खुला रक्तदान कार्यक्रम हुने भएको छ ।
विश्व रक्तदाता संगठन नवलपुर, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर र मौलाकाली केबलकारको संयुक्त आयोजनामा २०८३ भदौ २७ गते रक्तदान कार्यक्रम हुन लागेको हो । विश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले कार्यक्रमबारे जानकारी दिएका हुन् ।
रक्तदानमा सहभागी हुने रक्तदातालाई निःशुल्क केबलकार टिकट उपलब्ध गराइने आयोजकले जनाएको छ ।
धार्मिक स्थलमा रक्तदान कार्यक्रम आयोजना गरी मानव सेवालाई धार्मिक आस्थासँग जोड्ने तथा ‘मानवताका लागि रक्त अभियान’लाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका प्रवक्ता विपिन पाठकले बताए ।
आयोजकले इच्छुक तथा स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।





