भरतपुर, २६ भदौ ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले परिवार गुमाएका, घरबारविहीन भएका र ठूलो क्षति व्यहोरेका नागरिकको पीडा अझै उस्तै छ । विपद्को यो कठिन घडीमा देशका विभिन्न ठाउँबाट सहयोगका हातहरू जुटिरहेका छन् । यही मानवीय अभियानमा भरतपुर–५ स्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरू पनि जोडिएका छन् ।

बाढी प्रभावित परिवारको सहयोगका लागि विद्यालयका जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूले १५ हजार २५० रुपैयाँ सहयोग रकम संकलन गरेका छन् । आफूले सकेको सहयोग जुटाउँदै विद्यार्थीहरूले विपद्को समयमा पीडितको साथमा उभिने मानवीय उदाहरण प्रस्तुत गरेका हुन् । संकलित रकम प्रमाइम कमर्सियल बैङ्कबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाइएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेको मार्गदर्शन तथा जुनियर रेडक्रस शिक्षक नायक सरस्वती पौडेलको नेतृत्वमा सहयोग रकम संकलन गरिएको हो । रकम संकलन अभियानको नेतृत्वसमेत शिक्षक नायक पौडेलले गरेकी थिइन् ।
पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नभई विद्यार्थीलाई मानवीय सेवा, सामाजिक उत्तरदायित्व र स्वयंसेवी भावनासँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ । अभियानमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
विपद्को पीडा आफैंले नदेखे पनि प्रभावित नागरिकको दुःखलाई महसुस गर्दै सहयोगका लागि अघि बढेका विद्यार्थीहरूको प्रयासले ‘सहयोग रकमले मात्र होइन, सहयोग गर्ने संस्कारले पनि समाज बन्छ’ भन्ने सन्देश दिएको छ ।
सानै उमेरदेखि सेवाभाव र मानवीयताको अभ्यास गरिरहेका विद्यार्थीहरूको यो कार्यले विद्यालयमा जुनियर रेडक्रस अभियानको उद्देश्यलाई थप सार्थक बनाएको छ । बाढीपीडितका लागि विद्यार्थीहरूले जुटाएको १५ हजार २५० रुपैयाँ रकमभन्दा ठूलो उनीहरूको मानवीय भावना र सहयोग गर्ने संस्कार हो ।





