चितवनका सहिदहरुको संश्मरणात्मक शैलीमा नारायण शर्मा ‘विपिन’ द्वारा लेखिएको र ऐतिहासिक महत्त्व बोकेको कृति हो – रगतले इतिहास लेख्नेहरू । जीवनीले सम्बन्धित व्यक्ति – कर्मको दार्शनिक, नैतिक, मनोवैज्ञानिक र समकालीन समाज-चेत प्रस्तुत गर्दछ । जसमा स्मृति-तत्त्व भावनात्मक यथार्थ, सामाजिक सन्दर्भद्वारा निर्मित भाष्य तथ्यको जगमा टेकर तर्कहरू प्रस्तुत गर्ने गरिन्छ । जीवनीमा समाज र विषयीको प्रतिबिम्बन, चिन्तन, साझा वा बहुजनको समझ वा बुझाई प्रस्तुत गरिन्छ ।
जीवनी प्राचीनतम् साहित्यिक विधा हो । धार्मिक ग्रन्थ तथा पूर्वीय दर्शनका पुरान कथाहरू यही विधामा लेखिएका छन् । जीवनी (Biography) शब्द ग्रीक भाषाका’ Bios’ (जीवन) र लेखने कार्य (Graphein) शब्दहरूबाट बनेको हो । समय अनुसार जीवनी लेखनको दायरा र शैलीमा पनि नवीनता बढ्दै गएको देख्न सकिन्छ । लेखक बिपिनको प्रस्तुत कृति राहुल सांकृत्यायनको जीवनी लेखनसँग शैलीगत सामिप्यता राख्दछ । त्यसकारण कृतिको चर्चा सोही भाव-भूमिमा संक्षिप्तमा गरिएको छ।
क) पुस्तकको भावभूमि – २०५२-२०६२ सालबिचमा भएको महान् जनयुद्ध र त्यसमा भएको बलिदान पुस्तकको मुख्य भावभूमि हो । यहाँ घटना र परिवेश पनि जिम्म्मेवार हुन्छ । चितवनका सन्दर्भमा भन्दा २०६४ सालमा सहिद स्मारक बनाउने विषयमा छलफल भएर पनि रोकिएको थियो । क. पथिक इन्चार्ज र क. प्रतिभा सचिव हुँदा त्यो पाटो थाँती रह्यो । २०६६ सालमा अनिल विरही चितवनको इन्चार्ज र क. अमर सचिव भएपछि सहीद र सहिद मूल्यलाई सौन्दर्यकृत गर्ने कार्य तीब्र भएर गयो । २०६६ मा सहयोगी मधुसुधनसँग अनुरोध गरेर टाँडी बजारमा भएको शारदा घरदैलो अभियानमा मैले इन्द्र रेग्मीको हातमा ५० हजार दिएको हो । त्यो कार्यक्रममा घनश्याम शर्मा पौडेल प्रमुख अतिथि थिए ।
त्यही रकमबाट शारदा स्मृति अक्षयकोष प्रारम्भ भयो । अनुभव, उमेर र विषयगत ज्ञान नभएका नेता भन्दा पाका साहित्यकारहरूलाई नै त्यसको जिम्मा दिइयो । यद्यपि पार्टीमा औपचारिक छलफलसम्म नभएको भनेर आलोचना भयो । छलफल गर्न थालेको भए काम हुने थिएन । शारदा स्मृति कोषलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास पनि मैल गरिन । त्यसैगरी साहित्यिक पत्रिका एउटा पूर्व समूहले निकालेर बन्द भएको रहेछ । त्यसलाई प्रकाशित गर्न पार्टीले सिफारिस गर्यो ।
सहिदको सौन्दर्यकृत गर्ने विषयमा छलफल ‘रातो फोको’ मा चल्दै गर्दा कलाकार सूर्य मध्यरातसँग छलफल भयो । उहाँले कृष्णपुर पार्टी कार्यालयको प्राङ्गणमा सामूहिक र सबैभन्दा अग्रगामी भावधारा व्यक्तिने कला रचना गर्नु उचित हुने सुझाव दिनु भयो । त्यसपछि पिठमा बच्चा, हातमा हतियार बोकर उकालो चढ्दै गरेकी जनमुक्ति सेनाकी जवानको बहुअर्थी र ऐतिहासिक मूर्ति बनाइयो ।
त्यसपछि विद्यार्थी नेता लालबहादुर तामाङ ‘सार्थक’को नेतृत्व र मेरै उत्प्रेरणामा सप्तगण्डकी क्याम्पसमा स्मारक बनाइयो । त्यो अर्को महत्वपूर्ण काम थियो । त्यसपछि एक दिन अम्विका, प्रतिभा, विपिन, म सहित सहिद केशव क्षेत्रीको आमा भेट्न गयौँ । छलफलमा आमा रुनुभयो । मैले ‘आमा हामी केही न केही गर्छौं’ भनेर फर्कियौँ । व्यसपछि १ वर्षभित्रै माडी बसन्तपुरमा माडीका ४ जना सहिदहरुको स्मारक बन्यो ।
त्यसकाममा प्रेम पाठक (हाल बेल्जियम), देवीलाल पौडेल (बसन्तपुर), सांसद अमिक शेरचन र जिविसको राम्रो सहयोग थियो । पाठक, शेरचन र जिविसले कृष्णपुरको स्मारकमा पनि सहयोग गरेका थिए । त्यसपछि ११ लाख अक्षयकोष बनाएर हरेक वर्ष सहिद परिवार वा त्यस सम्बन्धी काम गर्नेलाई पुरस्कृत गर्न उद्देश्यले अक्षयकोष बनाइयो । मेरो कार्य क्षेत्र परिवर्तन सँगै त्यो काम बेवारिस भयो । शारदा स्मृति पुरस्कारसमेत राजनीतिक सङ्कीर्णताको पिल्साइमा चाम्रिएको संस्थापक साथीहरूको गुनासो छ ।
त्यसैगरी कैलाशनगरमा शहीद स्मृद्धि भवनको लागि जग्गा लिइयो । त्यो अहिले प्रयोजन विहीन भएको छ । अक्षयकोष र जग्गा दुवै शोभा, गोर्खाली, समीक्षा सहिद परिवारका सामूहिक स्वामित्वमा रहेको थियो । शुक्रनगरमा मित्रमणीको धेरैपछि अटल पाण्डे र क. विजय भुजेलको नेतृत्वमा सम्पन्न भएका छन् । मित्रमणी आचार्यको स्मारक बनाउने निर्णय मैले गराएको हो । त्यसका लागि राजु भुसाल, भरतपुर महानगर, वडा कार्यालय र विशेष योगदान भुजेलज्यूको रहेको छ ।
वीरेन्द्र आदर्श उच्च मावि, वीरेन्द्रनगरमा रामचन्द्र पाठक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको बेलामा संगिता भट्टराईको संयोजकत्वमा सहिद स्मारक निर्माण उपसमिति बनेर काम शुरु भयो ।
कालान्तरमा रामजी कँडेल मुकेश र पछी खिलप्रसाद घिमिरे यसको नेतृत्वमा आउनु भयो । विभिन्न अवरोध झेल्दै चितवन जिल्लाको नक्सा र जनयुद्धको क्रममा सहादत प्राप्त गर्नुहुने सहिद तथा राज्यद्वारा बेपत्ता योद्धाहरुको नाम अंकित स्मारक निर्माण भएको छ ।
वीरेन्द्रनगरकै जन आदर्श क्याम्पसमा सोही क्याम्पसका विद्यार्थी समेत रहनु भएका सहिद हरिबाबु सेढाईको शालिक निर्माण गर्ने योजना थियो । राजनैतिक संकीर्णताका कारण त्यो पूरा हुन सकेन । सौराहामा चाहेर पनि गर्न सकिएन ।
त्यसैगरी प्रचार, भावना, साहित्यिक लेखक-पाठक बढाउने उद्देश्यले दुईजना सहिद केशव रिमाल ‘समर’ र ईश्वरीप्रसाद खनाल ‘प्रतीक’ को नामलाई स्थापित गर्ने उद्देश्यले समर-प्रतीक मासिक प्रकाशित गरियो । यो काम मूलतः विपिन र मैले गर्थ्यौँ । तर देखाउने नामहरू अरु नै थिए । छोटो समयमा नै पत्रिका स्थानीय स्तर (जिल्ला) मा स्थापित भयो । यो पत्रिकाले हरेक अङ्कमा सहिदहरुको जीवनी प्रकाशित गर्थ्यो । सावित्री आचार्य ‘अस्मिता’ ले कृतिको लोकार्पणमा यो विषय खुलासा गर्नुभयो । प्रकाशित रचनाहरू कुनै दिन पुस्तकको रूपमा तयार गर्ने विषयमा छलफल हुन्थ्यो । यी कामहरू धेरथोर आज पनि भइरहेका छन् ।
यही भावभूमिमा वा प्रेरणा र सकेको राम्रो गर्ने आन्तरिक स्वभाव समेतको योगमा क.नारायण शर्माद्वारा रगतले ‘रगतले इतिहास लेख्नेहरु’ कृति प्रकाशित भएको छ । इतिहासका तथ्यहरूलाई तोडफोड गर्न खोजिया भने त्यही विन्दुमा व्यक्तित्वको विघटन हुन्छ । यो कृति सहिदी-मूल्यको उत्कर्ष हो ।
ख) अनुभव र चेतना: कार्ल मार्क्सले क्रान्तिलाई ‘इतिहासको इन्जिन’ भन्नुभएको छ । सोही सन्दर्भमा मैले ‘बलिदान राष्ट्रको लागि’ कृतिको भूमिकामा ‘यदि क्रान्ति इतिहासका इन्जिन हो’ भने बलिदान क्रान्तिको ‘इन्धन वा ऊर्जा’ हो भनेको थिएँ । नेपाली समाज विकासको क्रम सयौँ वर्षदेखि चिप्ले कीरा झैँ घिस्रिरहेको छ । त्यसलाई पृष्ठ भागमा बारुद विष्फोट गराएर रकेट प्रक्षेपण गरे झैँ धकेल्न आवश्यक थियो । जनयुद्धले नेपाली समाजलाई त्यही भूमिका खेल्यो (पृ० ३१) भनिएको छ । जनयुद्धले भोग्ताहरुलाई त्यसप्रकारको चेतना दिएको थियो । अनुभवहरू पनि उत्तिकै लालित्यमय, विचारप्रधान र उद्देलित हुन्थे । “एउटा सर्जकलाई आफ्नो सिर्जना गर्नका लागि त्यो जङ्गल, चराचुरुङ्गीको आवाज कति सुन्दर र मनमोहक लाग्दो हो । तर, यहाँ त्यो जङगलभित्रको कटेरो मानव वधशाला भएको छ ।
त्यहाँ भित्रका मानवरूपी पशुहरू बन्दीको चित्कारलाई सङ्गीतका रूपमा श्रवण गर्दै खसी र मासु खाँदै नाच्दै छन् (पृ. ३९) कसरा व्यारेकको चित्रण गर्दै युद्धबन्दी शोभा कट्टेल भन्नुहुन्छ । त्यसैगरी खुशीराम पाख्रीनको रचना ‘मेरो कान्छो अमर फर्केन’ एउटा अर्को प्रतिनिधि संस्मरण हो । जसमा सहिदका पितासमेत रहेका पाख्रीनले संस्मरणात्मक शैलीमा सहिद छोराको जोवनी रचना गर्नुभएको छ । यसप्रकार कृतिमा जनयुद्धका अथाह अनुभवहरू र समकालीन मार्क्सवादी चेतनाको उत्कर्ष कृतिमा व्यक्त भएको छ ।
ग) फराकिलो दायरा- २००७ सालको विद्रोह तनहुँ बन्दिपुरमा राज्यद्वारा मारिएका धर्मध्वज गुरुङबाट परिचयात्मक प्रारम्भ गर्दै जनयुद्धसम्मका सबै सहिदको जीवनी कृतिमा समावेश गरिएको छ । पार्टी समूह-समूहका सहिद छन? सहिद कसलाई भन्ने? सहिदको मापदण्ड के हो? साझा दुश्मनको विरुद्ध लडेका सबैलाई सबै पार्टीले मान्न सक्नुपर्थ्यो । …. गणतन्त्रलाई स्वीकार गर्ने हो भने गणतन्त्रको लागि भएका सबै बलिदानहरूलाई स्वीकार गर्नुपर्दछ । विद्रोहबाट प्राप्त उपलब्धि र बलिदानहरूलाघ स्वीकार गर्नुपर्छ” (अनिल शर्मा, हाम्रो सिर्जना-२८) ।
लेखकले यसप्रकारको सोचलाई स्वीकार गरेर नयाँ बहस प्रवेश गराएका छन् । २००७ साल हुँदै २०१८ सालमा भरतपुर कब्जाको क्रममा भरतपुर-१०, पाहुना घरमा मारिएका सबैलाई सहिद मान्नुपर्ने धारणा लेखकको छ । त्यसैगरी २०३४ को जुगेडी सङ्घर्ष, २०३६ को विद्यार्थी-शिक्षक सहसंघर्ष, २०३७ को जुटपानी तेसो किसान विद्रोह, २०३७ को वीरेन्द्र क्याम्पस हत्या, २०४२ सालका मित्रमणी आचार्य हत्या, २०४६ को जन आन्दोलन, २०५२-०६२ सालको जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनमा चितवनमा भएका सबै बलिदानीलाई उच्च मूल्याङकन गरेर लेखकले चिन्तनमा रहेको सांस्कृतिक सङ्कीर्णतालाई चुनौती दिएका छन् । यसप्रकारले कृतिले चितवनको आयतनलाई विस्तार गरेका छन्।
घ) सामहिक भोगाई र प्राप्ति: एकल नेतृत्व र एकल जस प्रतिक्रियावादी वर्गको नेतृत्व प्रणाली (सङ्गठन) र इतिहासको रचनाकार (जस लिने) सोच र शैली हो । सामूहिक नेतृत्व प्रणाली र प्राप्ति मार्क्सवादको आधार हो । सामूहिक र लामो वर्ग सङ्घर्षले चितवन बनेको हो । प्रकृतिसँग गरिएको संघर्षले मात्र एकाएक सामाजिक चेतना निर्माण भएको होइन नै । “सहादत र वीरताका अनेकौँ जङ्घार तरेर मात्र आजको चितवन बनेको हो । लाग्छ नारायणीमा पानी जत्तिकै रगत पनि बनेको छ । सिराई चुलीबाट सुन्दर सूर्योदय मात्र होइन नियालेर हेर्यो भने जताततै रगतका फाल्सा देखिन्छन (पृ. ३९१) ।” झुवानी किसान सङ्घर्ष, धोबाहा किसान सङ्घर्ष, मोहना किसान सङ्घर्ष, खरकट्टा किसान संघर्ष, शुक्रनगर, पटिहानी, रामनगर अनेक-अनेक बलिदानले चितवनको चेतना निर्माण गरेको छ । जसमा राजा-महाराजा त के नाम चलेका नेता भन्दा भुईमान्छेको योगदान थियो । त्यही-चपरीमुनी दबाइएका भुईमान्छेको उत्खनन् पनि हो कृति । जसरी क.स्वनाम साथीले अनुसन्धान गरेर ‘घण्टाकर्ण’ लाई राक्षस नभएर किसान सहिद भनेका छन् ।
ङ) बलिदानको गाथा- जनयुद्ध सत्य र न्यायको पक्षमा लडिएको महान बर्ग सङ्घर्ष थियो । प्रतिक्रियावादी सत्ताले २०६१ सालमा कक्षा ७ मा अध्ययनरत प्रतिभा गिरी (कालिका-५)को घरमा शाही अमेरिकी सेना आएपछि डरले भागेकै कारण हत्या गर्यो । राप्रपाका नेता उनका पिताले पालिकामा भएको भ्रष्टाचारको विरोध गरेकाले भ्रष्टाचारीले चुक्ली लगाएकै आधारमा हत्या गरेको थियो । त्यसैगरी शोभा कट्टेललगायत युद्धवन्दीले कसरा ब्यारेकका तत्कालीन कर्णेल प्रितम राणाको अपराधहरूको सशक्त शब्द-चित्रमा भन्डाफोर गरेका छन् ।
त्यसैगरी सन्ते मर्दनिया (थारू समुदायको थर) जो माओवादी नै थिएनन् । मर्दनियालाई फुली थप्ने मनसायले हत्या गरे । त्यसैगरी २०६० को शिवरात्रीको दिन जुगेडीमा बाटोमा आना-सुका पैसा माग्दै गरेका किशोरलाई सामूहिक हत्या गरियो । कुन कुनै काङ्ग्रेसले माओवादीले पैसा उठाउँदै छन्, भनेर चुक्लि लगाएछन । शिवरात्रीमा बटुवालाई टिका लगाइदिने, पैसा माग्ने प्रचलन अझै छ । टिका लगाइदिन हात बढाएकालाई गोली दागियो । त्यसैगरी जीवन बुढाथोकी ‘मुनरस’ र बेतिया (विहार)का ठाकुर पेशाका हरेराम ठाकुरको हत्या गर्यो ।
ठाकुर पनि राजनीतिक ब्यक्ति थिएनन् । त्यस प्रकारका बर्बरताका विरुद्ध सारा गाउँ भियतनामको अजम्मरी गाउँ बनेर उठेका थिए । जनयुद्धमा माओवादी कार्यकर्ता मात्र लडेको भन्ने भ्रम कतिपयलाई अझै छ । माओवादीभित्रै त्यसप्रकारका मिथ्या-चेत रहेको छ । त्यसकारण कृति जनताको बालिदानको महागाथा पनि हो।
च) आदर्शको उत्खनन: चितवनलाई बुझ्न चितवनमा २०१६ साल-देखिका बलिदानको मर्मबोध र ज्ञान अनिवार्य छ । त्यसप्रकारको समाजशास्त्रीय-चेतना प्रवाह गर्दै लेखक -सम्पादक भन्छन् ‘रगतले कोरिएका तर नाङ्गो आँखाले नदेखिने तिनै धर्साहरूले चितवनको नक्सा कोरेको कुरा थाहा नपाउनु भनेको आफ्नो पैताला कहाँ टेकिरहेको छु भनेर थाहा नपाउनु जत्तिकै हो (प्र.१२) ।’ लेखकको आत्म-कथन नै कृतिको मूलमर्म हो । त्यसबेला जनताले शाही अमेरिकी सेना र माओवादी सेना वा कार्यकर्ता बुझ्ने उनीहरूको पोशाक र शब्द चयन होइन आदर्श वा व्यवहार हेरेर बुझ्थे । फरक विचारले फरक आदर्श स्थापित हुन्छ ।
गोविन्द पौडेल ‘सुदीप’ नक्कली माओवादी (शाही सेना)ले कब्जा लिँदै गर्दा सुदीप भन्छन् “यिनीहरू पार्टीका मान्छे हैनन् । पार्टीका मान्छेले जनताको बालिनाली बिगार्दैनन् । नसोधी जनताको फलफूल टिपेर खाँदैनन्” सहिदकी जीवनसाथी उमादेवी पौडेलको स्मरण छ । त्यसैगरी दलित, महिला, श्रमिकजनप्रति गरिँदै आएको शोषण र उत्पीडन विरुद्ध जनचेतना उठाउनु, प्रतिरोधी मानसिकता निर्माण गर्नु र समग्रमा अस्तित्वबोधी आदर्श निर्माण जनयुद्धको मर्म थियो ।
त्यसप्रकारको कार्यमा चितवन पनि अग्रस्थानमा नै थियो । त्यसैगरी काउले, जुगेडी र जुटपानी शब्द पटक-पटक दोहोरिएका छन् । लेखकलाई अतिशय स्पर्श गरेको सन्दर्भलाई लेखकले दोहोर्याउँछ भन्ने गरिन्छ । विरासतका भारीले मान्छेलाई सत्यबोध गर्नबाट बन्चित गर्दछ । आदतको सत्ता डरलाग्दो हुन्छ । कृतिका सम्पादक त्यसप्रकारका बोझबाट मुक्त रहेको कारण पनि २०१८, २०३४ र २०३७ का बलिदानहरूलाई आत्मसात गर्ने भावनात्मक दबावबाट मुक्त भएका हुनसक्छ । यो सबल पक्षले पनि कृतिलाई सबल बनाएको छ ।
छ)सम्पादकीय दायित्व – लेखक र सम्पादकले व्यक्तिको जीवन र कर्मको विषयमा समाजसँग शब्दमार्फत अन्तर्क्रिया गरिरहेको इन्छ । उसले इतिहासको समीक्षा गर्दैगर्दा भविष्यको परीक्षा पनि दिइरहेको हुन्छ । उसले नयाँ पुस्तासँग भलाकुसारी गरिरहेको हुन्छ । सत्यप्रति निष्ठा, सन्तुलित प्रस्तुती, विषयप्रति संवेदनशीलता, संयम उसका आन्तरिक लेखकीय शक्ति हुन्छन् ।
व्यक्तिलाई देवत्वकरण र राक्षसीकरण वा छोपछाप नापारिकन असल पक्षको सौन्दर्यकरण उसको दायित्व बन्न जान्छ । खुला र स्पष्टताको नाममा भित्री वस्त्र निकाल्नु उचित हुँदैन । ‘नो रिजर्भेसन इज गुड़ राइटिङ’ भन्ने चर्चा अर्कोतिर छँदैछ । बर्गीय पक्षधरता र यी दुई विच सन्तुलनमा लेखकको शक्ति प्रकट हुन्छ । तसर्थ सत्य र न्यायको प्रकटीकरण गर्ने सामर्थ्यमा नै लेखकीय सफलता निहित रहन्छ ।
ज) बिम्वको भाषामा प्रस्तुती- लेखकले एकातिर प्रकृतिको मानवीकरण सशक्त ढङ्गले गरेका छन् । विचार र कलामध्ये के रोज्ने ? साहित्यमा यो बहस नै गलत छ कलबिना साहित्य नै हुँदैन भने विचार (बर्गीय पक्षधरता) विनाको साहित्यको मूल्य नै हुँदैन । यहाँ कला र विचार वा सार तथा रूपविचमा सन्तुलन कायम छ । कृतिमा सम्पादकको लेखकीय क्षमता पनि प्रकट भएको छ । “चितवन, जहाँ सिराईचुलीले घाम झुल्कँदाको रौनक दिन्छ भने गोलाघाटले घाम अस्ताउँदाको आनन्द । दुवै दृश्य मान्छेलाई उत्तिकै प्रिय लाग्छन् । उदाउनु र अस्ताउनुको पनि आ-आफ्नै सौन्दर्य छन् (पृ.१०) ।”
आमुखमा लेखक भन्छन् । त्यसैगरी लेखकहरूको प्रस्तुती उस्तै कलात्मक छन् हरौँ, अर्को पङ्ती “कति लामा छन् यी दिन र रातहरू ! एक घण्टा बित्न पनि एक महिनाको प्रतीक्षाको घडीजस्तो लामो लाग्छ । एउटा थोत्रो कम्मल, जुन सम्भवतः म जन्मनुभन्दा अगाडिको हुँदो हो, धूलो, माटो र फोहरका टाटाहरू नाङ्गो आँखाले देख्न सकिन्थ्यो (पृ० (पृ. ३९) ।” त्यसैगरी सहिदकी जीवन संगिनी देवकुमारी घिमिरे (जो टाँडीमा फलफूल व्यापार गर्नुहुन्छ)को सन्दर्भमा कृतिकार भन्छन्, “सम्झँदा पनि कहाली लाग्छ । देवी भाउजुको कुरा सुनेर मलाई लाग्यो टाँडीका फलफूल पसलमा दिनहुँ फलफूलसंग भावना कति जोखिन्छ होला ! (पृ० १२८) ।”
झ) समकालीनताबोध- समकालीनताको सन्दर्भमा गणतान्त्रिक व्यवस्था र बढेको सामाजिक चेतना यसका सकारात्मक यथार्थ हुन् । त्यसैगरी बढ्दो आर्थिक सांस्कृतिक अधोगति, विदेशी हस्तक्षेप र नैतिक धरातलको गिर्दो दिशा नकारात्मक पक्षहरु हुन् । कृतिकार सहित अधिकांश लेखक र सहिद परिवारहरूसमेतले समकालीनताप्रति असन्तुष्टि प्रकट गरेको देखिन्छ र बलिदानमाथि अपमान गरेको बोध गरेका छन् । “आज जनयुद्ध छैन । जनमुक्ति सेना पनि छैन ।
दुर्घटनामा परेर फुटेको सवारी साधानको सिसाजस्तो टुक्रैटुक्रामा बाँडिएका छ । परिवर्तनको पाङ्ग्रा उल्टो दिशातिर धकेल्ने कोसिस भइरहेको छ । यो सबैको विचमा पनि निराशाको विरुद्ध आशाको गीत सुसेल्नु जरूरी छ (पृष्ठ १७७) ।” सहिद जीवन बुढाथोकी ‘मुनरस’ को आफन्तजनले भन्नु भएझैँ समकालीन चेतनाबोध सबैमा देखिन्छ । समकालीनताबोधको कोणबाट पनि कृति अब्बल देखिन्छ ।





