कवि विष्णु पन्थी ‘विनु’को ‘जेन्जीकी आमा’ सार्वजनिक

गैंडाकोट, २७ भदौ ।
कवि विष्णु पन्थी ‘विनु’को कवितासङ्ग्रह ‘जेन्जीकी आमा’ सार्वजनिक गरिएको छ ।

शनिबार गैंडाकोटमा आयोजित कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, प्राडा चूडामणि बन्धु, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनाल, प्राडा गणेशप्रसाद खराललगायतले कृतिको विमोचन गर्नुभयो । कृति गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको हो ।

विमोचनपछि कृतिमाथि विपिन पाठक र रञ्जना लामिछानेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

समीक्षक पाठकले ‘जेन्जीकी आमा’ मा जेन्जी आन्दोलनसँग सम्बन्धित कवितासँगै नारी विद्रोह, नारी चेतना, सामाजिक तथा पर्यावरणीय विषयका कविता समेटिएको बताउनुभयो । सङ्ग्रहमा नारीका सङ्घर्ष, संवेदना र इमानदारीलाई समेत कविले अभिव्यक्त गरेको उहाँको भनाइ थियो ।

अर्की समीक्षक रञ्जना लामिछानेले सङ्ग्रहमा नारी चेतना बलियो रूपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले समकालीन नेपाली समाजका विविध विषयलाई कवितामा समेटिएको उल्लेख गर्दै नारीका समस्यालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

लामिछानेका अनुसार सङ्ग्रहमा रहेका ५५ कवितामध्ये करिब एकतिहाइ कविताका शीर्षक आमासँग सम्बन्धित छन् । आमाको सामीप्यमा सन्तानले महसुस गर्ने सुरक्षा र आत्मीयतालाई कविताले अभिव्यक्त गरेको उहाँले बताउनुभयो ।

यद्यपि कविताको भाषिक पक्षमा अझै सुधारको सम्भावना रहेको र कतिपय कवितालाई थप काव्यिक बनाउन सकिने उहाँको सुझाव थियो । नारीलाई नारी लेखकबाटै नकारात्मक बिम्बका रूपमा चित्रण गर्ने प्रवृत्तिमाथि पुनर्विचार गर्नुपर्ने बताउँदै उहाँले सासू–बुहारीको सम्बन्धलाई अबका लेखकहरूले आमा–छोरीको सम्बन्धसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनाल र समालोचक उदय अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कवि मुना धनञ्जयले कृतिबाट एक कविता वाचन गर्नुभएको थियो भने कविका श्रीमान् तिलक पन्थीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

पन्थीको यसअघि ‘भेटी’ लघुकथासङ्ग्रह प्रकाशित छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट