भरतपुर, २९ भदौ ।
गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा समालोचक रमेश प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित भएको छ ।
चालिसको दशकको उत्तरार्द्धदेखि साहित्य सिर्जनामा सक्रिय प्रभात चितवनमा गजल लेखनको सुरुआती पुस्ताका स्रष्टामध्ये एक हुन् । चितवन, नवलपरासीसहित आसपासका जिल्लामा हुने साहित्यिक तथा गजलसम्बन्धी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनले गजल सिर्जनासँगै गजल सिद्धान्त र संरचनाका विषयमा समेत विभिन्न आलेखमार्फत योगदान दिँदै आएका छन् ।
चितवनमा गजल लेखन र यसको साहित्यिक गतिविधिलाई स्थापित गर्न सक्रिय भूमिका निर्वाह गरेका प्रभातको नयाँ कृतिले उनको लामो गजलयात्रालाई पुस्तकाकार रूपमा प्रस्तुत गरेको छ । गजललाई सिर्जनाका रूपमा मात्र नभई यसको शिल्प, सिद्धान्त र संरचनाका विषयमा समेत अध्ययन तथा विमर्श गर्दै आएका प्रभातका लागि यो सङ्ग्रह विशेष महत्त्वको कृति हो ।
सङ्ग्रहमा ८३ वटा गजल र १० वटा फर्द समावेश छन् । गजलकार प्रभातका अनुसार यी गजलहरू स्वतन्त्र रूपमा लेखिए पनि अधिकांश बहरको सिद्धान्तसँग मेल खाने छन् ।
कृतिका हिसाबले ‘आँगनीमा फूल रोपेँ’ प्रभातको छैटौँ पुस्तक तथा पहिलो गजलसङ्ग्रह हो । यसअघि उनका २०५२ सालमा ‘प्रायश्चित’ बालचित्रकथासङ्ग्रह, २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकूसङ्ग्रह, २०५७ सालमा ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रह, २०८० सालमा ‘अलिकति फरक कुरा’ र २०८२ सालमा ‘अरू अलिकति फरक कुरा’ समालोचनासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रहमा सुरेन्द्र अस्तफल, गणेश श्रमण, प्रकाश थापा, गोपाल पौडेल, नवराज ढुङ्गाना, सिर्जन अविरल, दीपक गौतम, लक्ष्मीकुमारी ढकाल र रमेश प्रभातका पाँच–पाँचवटा कविता समावेश छन् ।
साहित्य सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय प्रभात हाल वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा उपप्राध्यापकका रूपमा कार्यरत छन् ।




