गैंडाकोट, २८ भदौ ।
गैंडाकोट नगर इसाई समाजको अध्यक्षमा पुनः पास्टर निर्दोष गिरी चयन भएका छन् ।
‘दाजुभाइ एकतामा रहनु कति असल र मनोहर हुन्छ’ भन्ने परमेश्वरको वचनलाई मूलमन्त्र बनाएर स्थापित गैंडाकोट नगर इसाई समाजको १०औँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा सम्पन्न भएको हो ।
अधिवेशनले समाजको अध्यक्षमा पुनः पास्टर निर्दोष गिरीलाई चयन गरेको छ । यस्तै, उपाध्यक्षमा रामु सापकोटा, सचिवमा चेतन दर्लामी मगर, सहसचिवमा अमृत राना र कोषाध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा मंगलप्रकाश श्रेष्ठ, यदुलाल लोहनी, शारदा रसाइली, सुरेश परियार, कौशिला विक र खेम पंगेनी निर्वाचित भएका छन् ।
गैंडाकोट नगरपालिका–२ का वडाध्यक्ष प्रकाश सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा नेता गोकुल सापकोटा र सुमन लुङ्गेली विशिष्ट अतिथि रहेका थिए ।
राज्यले सबै धर्ममा आस्था राख्ने धर्मावलम्बीहरुलाई समान व्यवहार गर्नुपर्ने र राज्यले आफ्नो दायित्व निभाउनु पर्ने कुरालाई कार्यक्रमका प्रमुख अतिथि प्रकाश सापकोटाले बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि रहनु भएका समाजसेवी तथा युवा नेता गोकुल सापकोटाले धार्मिक द्वन्द्वबाट समाज भड्किने र समाजमा अनेकौं विकृति फैलिएर जाने हुँदा आपसी सद्भाव कायम राख्नुपर्ने कुरालाई जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख वक्ता पास्टर नवराज गिरीले असल अगुवाले समाजलाई असल मार्गमा डोर्याउन सक्ने बताए । पास्टर सतल लामाले प्रारम्भिक प्रार्थना गरी सुरु भएको औपचारिक सभा नवनिर्वाचित अध्यक्ष पास्टर निर्दोष गिरीले प्रार्थना गरेपछि समापन गरिएको थियो ।





