हारको मुखबाट कर्णालीले निकाल्यो जित, सोमपालले खेले कप्तानी इनिङ्स

काठमाडौं । ५७ रनमा ५ विकेट गुमाइसकेको अवस्था। लक्ष्य थियो १८७ रन। क्रिजमा थिए कप्तान सोमपाल कामी र उनीसँगै थियो जितको झिनो आशा। त्यहीँबाट कर्णाली याक्सले खेलको कथा बदल्दै विराटनगर किंग्सविरुद्ध अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

जारी प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो। जितको आधार बनेका कप्तान सोमपालले अविजित ६२ रन बनाए। उनी प्लेयर अफ द म्याच पनि घोषित भए।

१८७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीको सुरुवात राम्रो हुन सकेन। मार्क वाट १ रनमा आउट भए पनि अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३२ रन बनाए। दीपक डुम्रेले ११ बलमा २० रन जोडे। तर, दुवैको आक्रामक इनिङ्स लामो समय टिकेन। अरिफुल र डुम्रेलाई एन्जेलो म्याथ्युजले आउट गरे भने हुसेन तलत ४ बलमा खाता नखोली फर्किए।

५४ रन पुग्दा चार विकेट गुमाएको कर्णालीले छैटौँ ओभरमा डुम्रेको विकेट पनि गुमायो। त्यसपछि पवन सर्राफ र सोमपालले पारी सम्हाल्ने प्रयास गरे। तर, ५७ रनमा अकबर अली पनि आउट भएपछि कर्णाली थप दबाबमा पर्‍यो।

त्यस अवस्थामा कर्णालीलाई जितसम्म पुर्‍याउन सोमपालले धैर्य र आक्रामकताको सन्तुलन मिलाए। पवन सर्राफले २८ बलमा ३६ रन बनाएर उनलाई साथ दिए। छैटौँ विकेटका लागि उनीहरूले महत्त्वपूर्ण रन जोडे। तर, पवन १४औँ ओभरको अन्तिम बलमा आउट भए। त्यतिबेला कर्णाली १२३ रनमा ६ विकेट गुमाएको अवस्थामा थियो।

त्यसपछि गुल्सन झा क्रिजमा आए। सोमपालले रनको गति बढाउँदै लगे भने गुल्सनले अर्को छेउबाट साथ दिइरहे। उनीहरूबीचको अविजित साझेदारीले खेल कर्णालीको पक्षमा फर्कायो। सोमपालले ३२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६२ रन बनाए। गुल्सनले २१ बलमा २ चौका र २ छक्कासहित नटआउट २८ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लोकेश बमले ५२ बलमा ८७ रन बनाए। उनले ३ चौका र ९ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ र आन्द्रे रसेलले २७ रन जोडे।

कर्णालीका कप्तान सोमपालले बलिङमा पनि प्रभाव देखाउँदै ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट हात पारे।

जितसँगै कर्णालीले दुई अंक बटुलेको छ। लगातार दुई खेल जितेको कर्णाली ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उता, लगातार दोस्रो खेल गुमाएको विराटनगर भने अंकविहीन रहेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट