निभेको छैन विद्रोहको आगो
ढलेको छैन आस्थाको पर्खाल
समय आँसु वर्षाइ रहेछ
आँसुका नदीमा होलिइ रहेछन् सपना
आमा मूल बाटो कुरेर बस्दिहुन्
मेरो पदचाप नियाल्दै ।
आमाको सपना खोसिए पछि
आमाको सपना पूरा गर्न हिडेको हुँ
गाँसबासले पिरोलेपछि
गाँसबास खोज्दै हिडेको हुँ
घरखेत साहुलाई बुझाएर
साहुको ऋण चुक्त्याउन हिडेको हुँ
मलाई दास बनाउने मालिक विरुद्ध
मुक्तियुद्ध लड्न हिडेको हुँ ।
पीडाका छालहरू उर्लन्छन्
दुःखका भङ्गालाहरू फुटाउँदै
रगतका थोपा चुहिएर
लेखिन्छ इतिहास मुक्तियुद्धको
म गर्विलो मुठ्ठी कस्छु
घर जहानको बिलौना सम्झँदै
मलाई बेलाबेला सताउँछ
नानीहरूको पापा शब्दले
सायद धुलोमा खेल्दा हुन
पाठशाला जाने कुनै उपाय नभएपछि ।
आफ्नै खेतबारी नहुँदा
म जोती बस्थेँ महाजनको हलो
तथापि सुरक्षित थिएन मोहियानी हक
पच्चिसा तिर्दैमा रित्तिन्थ्यो ढुकुटी
कसरी पाल्ने जहान बच्चा ?
चिन्ताले छटपटिन्थेँ म
महाजनको दबाब थेग्न नसकी
मैले प्रतिशोधको ज्वाला बोक्दै
महाजनको कठालो तानी
बालेको हुँ विद्रोहको आगो
बल्न देऊ दनदनी
पोल्नै छ महाजनको दम्भ र घमण्ड ।
म माथि शासन गर्ने
अभिजात्य शासकहरू
मेरो श्रम र पसिना लुटेर
आलिशान महलमा बस्छन
म श्रमको मूल्य नपाएर
भौतारिन्छु सडकमा
मलाई प्यारो लाग्छ
मेरो आफ्नै झुपडी
म वादशाहको नोकर हैन
मलाई लड्न देऊ मुक्तियुद्ध ।
निभ्नु हुँदैन विद्रोहको आगो
ढल्नु हुँदैन आस्थाको पर्खाल
म आत्मसम्मान खोजिरहेछु
तिमी अपमान गर्छौ
किन सहने तिम्रो निरङकुशता ?
म गाउँछु विद्रोहको गीत ।





