काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत छैटौँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको हो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५२ बलको सामना गर्दै ३ चौका र ९ छक्का प्रहार गरे। यस्तै, एन्जेलो म्याथ्युजले २३ बलमा ४ चौकासहित ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रनको योगदान दिए।
विराटनगरका बासिर अहमदले १३, शेहान जयसूर्याले ११, इमरान शेखले ५ र चरिथ असलंकाले ३ रन बनाए।
कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चिए। यस्तै, मार्क वाटले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए भने नन्दन यादवले पनि १ विकेट हात पारे।
विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ४१ रन बनाएको थियो। १० ओभरमा ८० रन बनाएको विराटनगरले १५.५ ओभरमा लोकेश बमको विकेट गुमाउँदा १४४ रन जोडेको थियो।
अब कर्णालीले जितका लागि निर्धारित २० ओभरमा १८७ रन बनाउनुपर्नेछ।





