जनकपुर, ११ कात्तिक ।
जनकपुरधाम उपमहानगरपालिका–१८, भोइलकी सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन् । थाइल्यान्डको राजधानी बैंककमा गत सेप्टेम्बर २७ मा सम्पन्न प्रतियोगितामा उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हासिल गरेकी हुन् ।
प्रतियोगितामा सान्वीले नेपालको प्रतिनिधित्व गर्दै मिथिला संस्कृतिको पहिचान झल्काउने परम्परागत झिझिया नृत्यसमेत प्रस्तुत गरेकी थिइन् । व्यवसाय प्रशासनमा स्नातक गरेकी २२ वर्षीया सान्वी यसअघि ‘मिस नेपाल २०२५’ मा सहभागी हुँदै उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् ।
उपाधि जितेर स्वदेश फर्किएपछि उनलाई गत कात्तिक ३ गते गृहगाउँ भोइलमा स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवसहित स्थानीयवासीले उनको सफलताको प्रशंसा गरेका थिए ।





