गैंडाकोटमा नारायण नेपालको एकल रचनावाचन

गैंडाकोट, ११ कात्तिक ।
कवि तथा गजलकार नारायण नेपालको एकल रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । बुधबार गैंडाकोटस्थित कालिका संस्कृत विद्यापीठमा आयोजित कार्यक्रममा स्रष्टा नेपालले आफ्ना कविता तथा गजल वाचन गर्नुभएको थियो । उहाँले हिन्दी भाषामा लेखिएका केही कविता पनि सुनाउनुभएको थियो ।

त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजना तथा कालिका संस्कृत विद्यापीठको सहआयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यापीठका प्राचार्य डा. केशवराज चालिसेले स्वागत मन्तव्य राख्दै स्रष्टा नेपालको साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव भूमिश्वर पौडेलले गर्नुभएको थियो ।

कवि, गजलकार, गीतकार तथा निबन्धकार नारायण नेपालको जन्म वि.सं. २०२० चैत २९ गते स्याङ्जाको पुतलीबजारमा पिता चिरञ्जीवी नेपाल र माता गङ्गादेवी नेपालको सन्तानका रूपमा भएको हो । शाङ्कर वेदान्त दर्शनमा आचार्यसम्मको शिक्षा हासिल गर्नुभएका उहाँ नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ । दाङमा रहेर साहित्य सिर्जना र प्राध्यापनमा सक्रिय नेपाल छन्दोबद्ध कविता तथा बहरबद्ध गजल लेखनका लागि परिचित हुनुहुन्छ ।

वि.सं. २०३६ मा ‘विद्यार्थिनो दुर्गुणाः कर्तव्यञ्च’ शीर्षकको कविता प्रकाशित भएपछि उहाँको साहित्यिक यात्रा अघि बढेको हो । ‘मिट्टी उठाओ’, ‘मेरा मनका गीत’, ‘मूल्यहरू’, ‘मुक्तिमन्त्र’, ‘मनोरथ काव्यगान’ र ‘माया’ उहाँका प्रकाशित कृतिहरू हुन् । कविता, गीत, गजल तथा निबन्ध विधामा कलम चलाउने नेपालका रचनामा प्रेम, मानवीय संवेदना, जीवनदर्शन र सामाजिक चेतना अभिव्यक्त भएको पाइन्छ । उहाँका गीत तथा गजल विभिन्न कलाकारका स्वर र सङ्गीतमा समेत प्रस्तुत भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट