काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।
पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको सहज जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार अर्धशतकीय इनिङ्स खेले। प्लेयर अफ दि म्याच घोषित भएका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाए। त्यसैगरी, इशान पाण्डेले ३१ बलमा ३७ रन जोडे भने ब्रान्डन म्याकमुलनले १२ बलमा २२ रनको विष्फोटक पारी खेले ।
ओपनर विनोद भण्डारी ४ रनमा आउट भएपनि मध्यक्रमका ब्याटरले जिम्मेवारी सम्हाल्दै टोलीलाई १९ बल अगावै जित दिलाएका हुन् । पोखराका लागि बलिङतर्फ धनञ्जय लाकसान, मेहदी हसन र शाकिब अल हसनले समान १-१ विकेट लिए ।
यसअघि, टस जितेर सुदूरपश्चिम रोयल्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका लागि सातौँ क्रममा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याटर अर्जुन घर्तीले विष्फोटक ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बटुले । उनको पारीमा ४ चौका र १ छक्का थिए । त्यस्तै, मेहदी हसनले ३२ रन र कप्तान कुशल भुर्तेलले २१ रन बनाए भने स्टार अलराउन्डर शाकिब अल हसन १४ रनमै पेभिलियन फर्किए।
सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गर्दै पोखरालाई ठूलो योगफल बनाउनबाट रोकेका थिए। बलिङतर्फ सुदूरपश्चिमका लागि स्पिनर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी, हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट हात पारेका थिए ।
उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिम रोयल्सले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो । जितसँगै सुदूरपश्चिमले महत्त्वपूर्ण २ अंक जोडेको छ र टोली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। सुरुवाती हारपछि दबाबमा रहेको सुदूरपश्चिमलाई यो जितले प्रतियोगितामा अघि बढ्न ठूलो राहत पनि दिएको छ।





