कृष्णभीरमा आजैदेखि गाडी चलाउने तयारी

धादिङ, २८ भदौ ।
त्रिशूली नदीको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आज बेलुका ४ः३० बजेदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिमखण्डका अनुसार कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक ट्र्याकलाई सवारी सञ्चालनयोग्य बनाउन ग्रेड मिलाउने, ग्राभेल गर्ने र सडकको सतह सुधार गर्ने काम तीव्र गतिमा भइरहेको छ । शनिबारसम्म भित्तातर्फको नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि अहिले ग्रेड सुधार तथा सडकलाई यातायातका लागि सुरक्षित बनाउने काम अन्तिम चरणमा पुगेको हो ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान गरेपछि राजमार्ग अवरुद्ध भएको थियो । त्यसपछि काठमाडौं प्रवेश तथा बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिँदै आएको थियो ।

सडक भासिएको स्थानभन्दा माथि भित्तो काटेर नयाँ डाइभर्सन ट्र्याक निर्माण गरिएको हो । यसअघि करिब २५२ मिटर लामो ट्र्याक खोलिएको र त्यसलाई ग्राभेल तथा ग्रेड मिलाएर दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिएको थियो ।

आज साँझदेखि सवारी सञ्चालनमा आएमा पृथ्वी राजमार्ग हुँदै काठमाडौं–चितवन, पोखरा तथा देशका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई ठूलो राहत पुग्नेछ । यद्यपि नयाँ ट्र्याक बाढीपछि तत्कालीन रूपमा निर्माण गरिएको वैकल्पिक सडक भएकाले चालकलाई सावधानीपूर्वक सवारी चलाउन आग्रह गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट