भरतपुर, १ असोज ।
त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड पुनर्स्थापना गरी आज बिहान ६ बजेदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् ।
सडक विभागले नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम सम्पन्न गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो ।
भदौ १० र १४ गते आएको बाढी तथा नदी कटानका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । त्यसपछि सडक विभागले जनशक्ति, उपकरण तथा स्रोत–साधन परिचालन गरी पुरानो सडकभन्दा माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरेको थियो ।
नयाँ ट्र्याक करिब २७० मिटर लम्बाइमा निर्माण गरी ग्राभेल गर्ने काम पूरा गरिएको हो। नियमित सञ्चालनअघि ग्यास बुलेटलगायत ठूला सवारीसाधनबाट नयाँ ट्र्याकको परीक्षणसमेत गरिएको थियो ।
कृष्णभीर सडकखण्ड करिब १८ दिनपछि दुईतर्फी सञ्चालनमा आएपछि काठमाडौं–चितवनलगायत पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज भएको छ। यसअघि सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्री तथा ठूला मालवाहक सवारीसाधनको आवागमनसमेत प्रभावित भएको थियो ।
नयाँ सडक तत्काल सञ्चालनमा आए पनि वर्षायामका कारण सावधानी अपनाउन र सडकको अवस्थाबारे सचेत रहन आग्रह गरिएको छ । आकस्मिक समस्या आए तत्काल मर्मत गर्न प्राविधिक, मेसिन तथा सुरक्षाकर्मीसहितको टोली तयारी अवस्थामा राखिएको धादिङकी प्रमुख जिल्ला अधिकारीले बताएकी छन् ।
पूर्वाधार विकास मन्त्रालयले सडक पुनर्स्थापनाका क्रममा सहयोग गर्ने यात्रु, स्थानीयवासी, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ ।





