ज्योतिषशास्त्र वेदाङ्गमध्ये एक प्राचीन एवं विशिष्ट शास्त्र हो । ग्रह, नक्षत्र, राशि तथा कालचक्रको सूक्ष्म अध्ययनद्वारा यसले समयको स्वरूप र मानव जीवनमा देखिने विविध सम्भावनाको विवेचना गर्दछ । जन्मकुण्डली, दशा, गोचर र मुहूर्तका माध्यमबाट जीवनका कर्म, स्वभाव, उतारचढाव तथा घटनाक्रमलाई शास्त्रीय पद्धतिबाट विश्लेषण गर्न सकिन्छ । वैदिक ज्योतिषशास्त्रअनुसार अहोरात्र-शब्दमा पूर्ववर्ण ‘अ’ परवर्ण ‘त्र´ यी दुईवर्णको लोप भएर होरा शब्द उत्त्पत्तिको विकासक्रम भएको हो ।

सारावलीग्रन्थमा  “आध्यन्त्वर्णलोपाद्धोरास्माकं भवत्यहोरात्रात्” भनेर व्याख्या गरिएको पाइन्छ । होरा भनेको जन्मसमयका आधारमा जातकको कुण्डली बनाएर फलादेश गर्ने ज्योतिषशास्त्रको मुख्य शाखा हो । लग्न, राशि, नवांश आदि निर्धारण गरेर व्यक्तिको फलादेश गरिन्छ । ‘होरा’ शब्दको अर्थ समय वा घण्टा पनि हुन्छ । जन्मसमयलाई आधार बनाएर फलादेश गर्ने शास्त्र भएकाले यसलाई होरा भनिएको हो ।

द्वादशभावहरूमध्ये अष्टमस्थान तृक् भावको मुख्य भाव हो । मृत्युसङ्ग लुकेका हरेक कुराहरू रहस्यात्मक विषयवस्तुहरू अचानक हुने घटना, एक प्रकारको रन्ध्र, सङ्कट, मृत्यु, दुर्घटना, पीडा, गुप्ताङ्गजस्ता विषयवस्तुहरूलाई हामीहरूले अष्टमभावबाट दृष्टि गर्न सकिन्छ । यो भाव कण्टकाकीर्ण भनेझैँ दुःखै दु:खले भरिएको सङ्कटको भाव हो । अनुसन्धान, गुप्तरहस्यमयी कुरा, पर्दा भित्र लुकेका कुराजस्ता कुरालाई केलाउन सकिन्छ । अष्टमभाव केवल मृत्यु मात्र होइन । यो अनुसन्धानको विश्लेषण ज्योतिषशास्त्रसँग जोडिएको अनुसन्धानको गहीरो भाव हो । अष्टमस्थानलाई आयुको स्थान भनिन्छ र नवमस्थान गुरु, धर्मसँग जोडिएको अर्थात् भाग्यभावको व्ययभाव भएकाले अष्टमस्थानबाट शुभफल पाइन्न वा अष्टमेशले शुभ फलको शक्तिलाई ह्रास गर्ने भएकाले पूर्ण रूपमा अष्टमस्थान अशुभ भाव हो ।

जन्मलग्नकुण्डलीको सातौँभाव केन्द्रभाव हो केन्द्रभाव भए तापनि अष्टमस्थानको व्ययभाव भएकाले पूर्ण रूपमा  सप्तमभाव मारक भाव हो । ‘भावाद्भावम्’को सिद्धान्तअनुसार आठौँभावदेखि आठौँभाव पनि गौण रूपको आयु भाव हो ।  द्वादशभावले हानि, खर्च, नकारात्मक कुरा, अस्पतालसम्बन्धि खर्च, तृकसँ जोडिएको अशुभभाव हो । त्यसकारण मृत्यु भावको व्ययभाव सातौँ भाव तृतीय केन्द्रभाव दोषले युक्त मानियो ।  तृतीयभाव अष्टमभावदेखि आठौँ भएकाले गौण आयुभाव (तृतीय) हो । तृतीयभावको पनि व्ययभाव दोस्रो भएकाले दोस्रोभाव पनि मारक भाव हो । पराशर ऋषिले लघुपाराशरीग्रन्थमा यसरी व्याख्या गर्नुभएको छ :-

अष्टमं ह्यायुषः स्थानम् अष्टमादष्टमं च यत् ।
तयोरपि व्ययस्थानं मारकस्थानमुच्यते ।।

द्वादशभावहरूमध्ये दोस्रो  र सातौँ भावको भावेश मारक ग्रह हुन्छ । ती दुई मारक ग्रहमा पनि आयुको नै व्यय भएको कारणले सातौँभाव प्रबल मारकभाव हो । दोस्रोभाव मध्यमबली मारक भाव हुन्छ । पराशर ऋषिले  गद्यशैलीमा भन्नुहुन्छ :-

निश्चितायुः स्थानव्यायत्वात्सप्तमस्याधिकबलवत्वं समुचितम् । आनुषंगिकायुस्थानव्ययत्वात् द्वितीयस्य तदपेक्षया न्यूनबलवत्वमप्युचितम् ।

आयुको विषयमा धेरै कुरा विचार गरेर मात्र फलादेश गर्नुपर्ने हुन्छ । सर्वप्रथम त शरीरको अवस्था (लग्न) नै महत्वपूर्ण हुन्छ । लग्नेश कहाँ छ ? कस्तो अवस्थामा छ ? दृष्टि प्रभाव, उदयास्त बल, शुभकर्तरीको बिचमा छ वा उच्चनीचांशमा छ ? यो कुरा नै महत्वपूर्ण हुन्छ ।

आयु विचारमा सर्वप्रथम त आयुको कारक ग्रह जसको गतिको वेग नै मन्द छ । त्यसैले आयुको कारक ग्रह शनि ग्रह हुन्छ ।  विशुद्ध अष्टमभावमा प्रभावित दृष्टि, स्थानगत ग्रह र अष्टमभावेशको अवस्था नै विशेष रहन्छन् । यदि कुनै पनि जातकको अष्टमभावेश पीडित छ भने आयु क्षीण हुने सम्भावना तीव्र रहन्छ । ‘रन्ध्रस्थो चिरायु’ गणेश दैवज्ञले जातकालङ्कारमा यदि अष्टमेश स्वगृही वा तुङ्गांशमा छ भने आयुको बल बढ्दो क्रममा जान्छ र आयु वृद्धि हुन्छ भन्ने कुरा दैवज्ञले व्याख्या गर्नुभएको छ । लग्नेश लग्नमा विराजित भएर शुभग्रहले दृष्ट छ कर्मेश, भाग्येश, अष्टमेश बलवान् छ भने मारक ग्रहले अशुभ प्रभाव दिन सक्दैन । ज्योतिषशास्त्रमा अल्पायु, मध्यमायु, दीर्घायु गरी तीन भागमा वर्गीकृत गरिएको छ । ३२ वर्षसम्मको अवधिलाई अल्पायु, ३२-६४ वर्षसम्मको अवधिलाई मध्यमायु र ६४-९६ वर्ष सम्मको अवधिलाई दीर्घायु भनिएको छ । विभिन्न आचार्य र ऋषिको मत छुट्टाछुट्टै पनि पाइन्छ । जन्मपत्रदीपकग्रन्थमा व्याख्या गरिएको छ :-

द्वात्रिंशत्पूर्वमल्पायुर्मध्यमायुस्ततो भवेत् ।
चतुःषष्ट्याः पुरस्तात्ततो दीर्घमुदाहृतम् ।।

दीर्घायुको योग

सौम्याः केन्द्रालयस्था वपुषि सुरगुरौ लग्नतो वा सुधांशोर्
आयुर्युक्तं न दृष्टं न च गगनगतैः सप्ततिर्वत्सराणाम् ।
यातो मूलत्रिकोणे शुभगगनचराः स्वीयतुङ्गे सुरेज्ये
लग्नाधीशेऽतिवीर्ये गगनवसुसमास्तुल्यमायुर्नराणाम् ॥ 
(जातकालङ्कार)

जन्मलग्न वा चन्द्रमाबाट शुभ ग्रहहरू केन्द्रभावमा स्थित छन् र अष्टम भाव पापग्रहको युति वा दृष्टिबाट मुक्त छ भने जातकको आयु ७० वर्ष हुने बताइएको छ । त्यस्तै शुभ ग्रहहरू आफ्ना मूलत्रिकोण राशिमा स्थित छन्, बृहस्पति आफ्नो उच्चराशि कर्कटमा छ र लग्नेश अत्यन्त बलवान् छ भने जातकको आयु ८० वर्ष हुने उल्लेख गरिएको पाइन्छ । यसरी शुभ ग्रहहरूको बल, अष्टम भावको शुद्धता र बलवान् लग्नेशलाई दीर्घायुको मुख्य आधार मानिएको छ । वैदिक ज्योतिषशास्त्रमा यदि चतुर्थ केन्द्रभावमा शुभग्रहको राशि भए तापनि शुभफल दिन सक्दैन, पापराशि यदि केन्द्रमा भए पनि अशुभ फल दिन सक्दैन, भन्ने कुरा पराशरीय प्रामाणिक सिद्धान्त हो ।

न दिशन्ति शुभं नृणां सौम्याः केन्द्राधिपा यदि ।
क्रुराश्चेद् अशुभं ह्येते प्रबलाश्चोत्तरोत्तरम् ।।

चतुर्थ केन्द्रभावलाई विषेश रूपमा शुभस्थान मानिन्छ । सत्गतिलाई सत्कार्यलाई देखाउने भाव केन्द्रभाव हो । यदि शुभग्रहहरूको राशि केन्द्रभावमा बस्छन् भने विषेशतः केन्द्राधिपत्य दोष लाग्ने हुन्छ । शुभभावमा शुभराशि बस्छ भने शुभफलको प्रभाव घटाउने क्षमता केन्द्राधिपत्य दोषमा रहन्छ । जस्तै उदाहरणका लागि मीन लग्नको कुण्डलीमा चतुर्थेश बुध, कर्मेश बुध शुभग्रहको दुवै राशि केन्द्रवर्ती भएकाले मीन लग्न भएका जातकलाई बुधग्रहले केन्द्राधिपत्य दोषले युक्त भएको मानिन्छ ।

यहाँ लग्नमा मीन राशि र दशम धनु राशिको संयोगले पनि केन्द्राधिपत्य दोष लाग्नुपर्ने हो तर लग्नेश भएको कारण शुभग्रह केन्द्रमा भए पनि केन्द्राधिपत्य दोष लाग्दैन किनभने लग्न भनेको गात्र हो, यो स्थान भनेको केन्द्रस्थान पनि हो विष्णुस्थान पनि हो । त्यसैले केन्द्राधिपति दोष नलगाएर गुरु योगकारक भएको मानिन्छ । यदि गुरु तुङ्गांश विराजित रहेछ भने राजयोग कारक हुन्छ ।

केन्द्राधिपतिदोष मिथुन, कन्या, धनु, मीनलग्नमा मात्र लाग्छ । मिथुन लग्नको सन्दर्भमा दशमेश, सप्तमेश भएकाले देवगुरु बृहस्पति केन्द्राधिपत्य दोषले युक्त भएको हुन्छ । सप्तमेश गुरु भएकाले वृहस्पतिलाई केन्द्राधिपत्य दोष धेरै रहन्छ । यस सन्दर्भमा पराशर ऋषि भन्नुहुन्छ :-

केन्द्राधिपत्यदोषस्तु बलवान् गुरुशुक्रयोः ।
मारकत्वे विषये मारकस्थानसंस्थितिः ।।

केन्द्राधिपति दोष चाहिँ गुरु र शुक्रमा विशेष बलवान् हुन्छ । तर मारकत्वको विषयमा भने मारकस्थानमा रहेको अवस्थालाई विचार गर्नुपर्छ । यहाँ गुरु केवल केन्द्राधिपतिदोषले युक्त मात्र छैन; गुरु मारकेश ग्रह भएको छ । किनभने आठौँको व्ययभाव सप्तम भएकाले गुरु पूर्ण मारकेश हो । धनेश चन्द्रमा मारकेश नहुने हुनाले मारक शक्तिमा यहाँ गुरु विशेष रहन्छ । यदि मारकेश अष्टमभावमा विराजित हुन्छ भने सर्वप्रथम त गुरु नीच राशिमा विराजित हुन्छ र लग्नेश बुध र मारकेश बुधमा शत्रुसम्बन्ध भएकाले बृहस्पतिले धेरै खराब प्रभाव पार्न सक्छ । द्विस्वभावलग्न भएकाले सप्तमेश बाधकग्रह हुने भएकाले गुरुले धेरै खराब प्रभाव पार्ने हुन्छ ।

वृहस्पतिग्रहको महादशान्तर्दशामा गुरुले नै मृत्यु तुल्य कष्ट दिने सम्भावना पूर्ण हुन्छ । त्यसकारण सोही ग्रहले जीवन दिने र सोही ग्रहले नै मृत्यु दिने क्षमता सोही ग्रहमा नै हुने भएकाले फलादेशमा ग्रहको बलाबल विचार गर्नुपर्ने कुरा सर्वप्रथम विचारणीय विषय हो ।

(लेखक वेद वेदाङ्ग संस्कृत विद्यापीठ देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट