कावासोती, ३१ भदौ ।
भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितका लागि नवलपुरका निजी विद्यालयहरूले ५० लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरले जिल्लाका विद्यालयबाट संकलित रकम केन्द्रीय प्याब्सनमार्फत दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले जानकारी दिए ।
जिल्लामा सञ्चालित ७३ वटा निजी विद्यालयले सहयोग रकम संकलन गरेका थिए । केही विद्यालयले संकलित रकम सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गरे पनि अधिकांश विद्यालयले संस्थागत रूपमा प्याब्सनमार्फत सहयोग गरेका हुन् । जिल्ला प्याब्सनले जिल्लाभरका सदस्य विद्यालयलाई सहयोगका लागि आह्वान गरी रकम संकलन गरेको थियो ।
प्याब्सन नवलपुरका पदाधिकारी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा भदौ २६ गते केन्द्रीय प्याब्सनलाई उक्त रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष चुरा गुरुङले बताए ।
विद्यालयहरूले न्यूनतम १० हजारदेखि अधिकतम ४ लाख रुपैयाँसम्म सहयोग गरेका छन्। सरकारले राहतका लागि आह्वान गरेलगत्तै विद्यार्थी, शिक्षक तथा कर्मचारीले व्यक्तिगत रूपमा समेत सरकारको खातामा रकम जम्मा गरेका थिए । संस्थागत रूपमा सहयोगको आह्वान भएपछि नवलपुरका निजी विद्यालयले ५० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको अध्यक्ष अधिकारीले बताए ।
अध्यक्ष अधिकारीका अनुसार बाढीबाट रसुवा, नुवाकोट, त्रिशूलीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा निजी तथा सामुदायिक विद्यालयसमेत प्रभावित भएकाले विद्यालयको पुनःस्थापना तथा पठनपाठन सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्य विद्यालयमार्फत रकम सहयोग गरिएको हो ।
विभिन्न जिल्लाबाट संकलित करिब १२ करोड रुपैयाँ केन्द्रीय प्याब्सनले दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण विद्यालय सञ्चालक तथा विद्यालय परिवारलाई जिल्ला प्याब्सन नवलपुरले धन्यवाद दिएको छ । अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्याब्सन नवलपुरले जनाएको छ ।





