मकवानपुर, ९ मङ्सिर ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका कुनै पनि विपन्न नागरिकलाई घरविहीन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्षमा विपन्न नागरिकका लागि एक हजार घर निर्माण गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
मंगलबार मकवानपुरको मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ बस्तीमा आयोजित कपडा तथा भाँडाकुँडा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले मुख्यमन्त्री आवास कार्यक्रममार्फत आवासविहीन नागरिकको समस्या समाधान गरिने बताउनुभयो ।
विशेषगरी चेपाङ समुदायको आवास समस्यालाई प्राथमिकता दिँदै घरविहीन परिवारका लागि प्रतिपरिवार चार लाख रुपैयाँका दरले घर निर्माण गर्ने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री थापाले आवाससँगै विपन्न परिवारको आयआर्जन र आर्थिक आत्मनिर्भरतालाई पनि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
नागरिकको आवश्यकताअनुसार कुखुरा, बाख्रा तथा भैँसीपालनजस्ता व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी चेपाङ बस्तीमा खानेपानीको समस्या समाधान, सुरक्षा व्यवस्था र दुर्व्यसन नियन्त्रणका लागि सीसीटीभी जडान गर्नसमेत प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बस्तीका नागरिकको दयनीय अवस्था देखेपछि तत्काल मानवीय सहयोग जुटाउन पहल गरेको बताउँदै उहाँले उक्त सामग्री वितरणमा प्रदेश सरकारको आर्थिक लगानी नरहेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्रीको आग्रहपछि विजय अग्रवालले मारवाडी सेवा समिति, मारवाडी महिला मञ्चलगायत संस्थासँग समन्वय गरी सहयोग जुटाउनुभएको थियो ।
मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा समिलडाँडाका ३५ चेपाङ परिवारलाई खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा तथा ओढ्ने–ओछ्याउने सामग्री वितरण गरिएको थियो ।
परिवारहरूलाई डेक्ची, कराई, प्रेसर कुकर, बाल्टी, थाल, गिलास, ग्यास, खटिया, सिरक, डसना, कम्बल, झुल, ज्याकेट, टोपीलगायत सामग्री हस्तान्तरण गरिएको थियो ।





