कावासोती, ९ मङ्सिर ।
नवलपुरको मध्यविन्दु बहुमुखी क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ । आगामी मङ्सिर ११ र १२ गते चितवनको सौराहस्थित होटल सेभेनमा हुने सम्मेलनमा नेपालसहित नौ देशका प्राज्ञिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् ।
‘नवप्रवर्तनमार्फत दिगो र बौद्धिक भविष्यका लागि उच्च शिक्षाको रूपान्तरण’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा शिक्षा, व्यवसाय, समाज र प्रविधिका क्षेत्रमा देखिएका अवसर तथा चुनौतीबारे छलफल र अनुभव आदानप्रदान गरिने क्याम्पस प्रमुख गणेशमान गिरीले जानकारी दिए ।
सम्मेलनमा अमेरिका, न्युजिल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, भारत र नेपालसहित नौ देशका प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताका १०३ वटा अनुसन्धान लेख प्रस्तुत गरिनेछन् । साथै, १०० भन्दा बढी आङ्गिक तथा सामुदायिक क्याम्पस र विश्वविद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
अनुसन्धान तथा ज्ञान निर्माणलाई प्रोत्साहन, उच्च शिक्षाको रूपान्तरण, अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्य विस्तार र कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्रविधिको प्रयोगलाई सम्मेलनले प्राथमिकता दिनेछ ।
सम्मेलनमा करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। क्याम्पसको आन्तरिक स्रोत, स्थानीय पालिका तथा विश्वविद्यालयको सहयोगमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा. मुक्तिराम पाण्डेको अध्यक्षतामा हुने सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । उद्घाटन सत्रमा करिब २०० जनाभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनको पहिलो दिन उद्घाटन, सांस्कृतिक कार्यक्रम तथा प्रमुख वक्ताहरूको प्रस्तुति रहनेछ भने दोस्रो दिन अनुसन्धान लेख प्रस्तुतीकरण र समापन समारोह आयोजना गरिनेछ ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका पूर्वडिन प्रा. डा. महानन्द चालिसे, प्राध्यापक वेदराज आचार्य, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति ध्रुवराज गौतम तथा प्राध्यापक डिल्लीराज शर्मालगायतको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान सञ्जाल विस्तार, संयुक्त अनुसन्धान, शैक्षिक प्रकाशन र संस्थागत साझेदारीका नयाँ अवसर सिर्जना हुने आयोजकको विश्वास छ । सम्मेलनबाट प्राप्त निष्कर्ष आगामी पुस्ताका लागि अनुसन्धानको महत्वपूर्ण आधार बन्ने सहायक क्याम्पस प्रमुख विष्णुप्रसाद लम्सालले बताए ।





