भरतपुर, ७ मङ्सिर ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर बुझाउने चितवनका तीन कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।
सबैभन्दा बढी २ करोड ६५ लाख ३३ हजार ३६४ रुपैयाँ आयकर बुझाउने सोङ दा कालिका जोईन्ट भेन्चर पहिलो भएको छ। उक्त कम्पनी लगातार दोस्रो वर्ष सबैभन्दा बढी आयकर बुझाउने करदाता बनेको हो ।
त्यस्तै, २ करोड २३ लाख ६ हजार ९०६ रुपैयाँ आयकर बुझाउने ई नेपाल प्रा.लि. दोस्रो र १ करोड ८२ लाख ८६ हजार १०९ रुपैयाँ आयकर बुझाउने एनपीआई नारायणी सामुदायिक अस्पताल तेस्रो भएका छन् ।
मंसिर १ देखि ७ गतेसम्म सञ्चालित कर सप्ताहको समापनका अवसरमा आयोजित कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शरद निरौलाले कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा करको महत्व र नियमित कर भुक्तानीको आवश्यकताबारे चर्चा गरिएको थियो ।





